Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
बैंक वित्तीय

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने

८ कार्तिक २०८१, बिहीबार ०३:४६

८ कात्तिक, काठमाडौँ। विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपी ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैंकको केन्द्रीय कार्यालयमा अर्थसचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५औँ वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरूको संयुक्त बैठकमा सहभागी भएका थिए । आजै पौडेलसँग विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग-अलग भेटवार्ता भएको छ । उक्त भेटवार्ताको क्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष श्री मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले विश्व बैंकले नेपालको  यातायात, ऊर्जा, शिक्षालगायतका पूर्वाधार विकास एवम् सामाजिक क्षेत्रका कार्यक्रम तथा परियोजनामा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहयोगको क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी वनाउन आग्रह गरेका थिए ।

त्यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिन याङसँग पनि आजै पौडेलले विश्व बैंक मुख्यालयमा भेट गरे । एसियाली विकास बैंक नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवम् सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गरेका थिए ।

पौडेलसँग आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता भएको छ । भेटका क्रममा निगमले नेपालमा निजी क्षेत्रको विकासमा लगानी बढाउँदै लगेकोमा पौडेलले खुसी व्यक्त गरे । आगामी दिनमा निगमका गतिविधिमा प्रभावकारीता ल्याउन र थप विस्तार गर्न आग्रह गर्दै सरकारको तर्फबाट निजी क्षेत्रको विकासमा अनुकूल वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्