Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
बैंक वित्तीय

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

१३ मंसिर २०८१, बिहीबार १३:२९

१३ मंसिर,काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच आज भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयमा उनीहरुबीच भएको भेटवार्ताका क्रममा नेपाल र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ।

फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतापत्रमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले हस्ताक्षर गरे।

उक्त परियोजनामार्फत नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तिय परिचालन गर्ने लक्ष्य राखिएको छ।

अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, ‘डिजिटलाइजेसन’, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सक्ने जनाइएको छ।

आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ। जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ। नेपाल अतिकम विकसित देश (एलडीसी)को सूचीमा परेकाले ५० प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइनेछ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि हुने बताए।

फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्