Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

बगर खेतीले फेरिँदै जीवन

२० कार्तिक २०८१, मंगलवार ०२:४३

२० कार्तिक, महोत्तरीभनिन्छ, ‘सय वर्षमा खोला पनि फर्कन्छ,’ तर महोत्तरीको भङ्गाहा–६ हतिसर्वाका पर्सा र सग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने रातु भङ्गालो फर्किएको कुर्न सय वर्ष पर्खनुपरेन ।

विसं २०३० को बाढीले बगर बनाएको जग्गा यहाँका बासिन्दाले चार दशकमै बगरलाई हराभरा बनाएका छन् । बगरमा अहिले आँप, लिची, सपाटो र कागतीसहितका फलका रुख हुर्केका छन् ।

यहाँ मौसमअनुसार फल र तरकारीका लहरा फल्न थालेका पनि चार/पाँच वर्ष नाघेको छ । कुनै टिप्ने भइसकेका, कुनै फुल्दै र चिचिलाले भरपुर । परवल, लौका, फर्सी, करेला, घिरौँला र झिमनीका बग्रेल्ती लहरा । नदी उकास गेग्य्रान ठाउँ अहिले किसानको मेहनतले हराभरा भएको देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । ‘बगर बगैँचा र बगैँचामा खेती’ले किसानको जीवन फेरिएको छ ।

पचास वर्षअघिको बाढीले बस्ती नजिकको उब्जाउ जग्गा रातुले बगर बनाइदिँदा सुकुम्बासी बनेका पर्साका आदिबासी थारु समुदायले अहिले पनि ती आपद्का दिन भुलेका छैनन् ।

‘छँदाखाँदाको हाम्रो जग्गा बगर बनेपछि हामी किसानबाट बनिहारा (खेतीपातीका काम गर्ने मजदुर) बन्यौँ, रातारात सुकुम्बासी बनियो’ विगतका दुःखका दिन सम्झदै पर्सा बस्तीका रामनारायण सिंह थारुले भने, ‘पछि २०६४ सालयता सरकारले पूर्व–पश्चिम राजमार्गमुनि रातुका दुई तिरका भङ्गाला तटबन्ध गरेपछि हाम्रो बगर बनेको जग्गा उकास बन्यो ।’

भङ्गाला बाँधिएर जग्गा उक्से पनि गेग्य्रान थुप्रिएको जग्गा सुधार्न आफूहरुलाई सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासले उत्प्रेरित गरेको पर्सा र सग्रामपुरका बासिन्दा सम्झन्छन् ।अहिले पर्सा बस्तीकी वृन्दादेवी हुजदार थारुको दैनिकी त्यही बगर पुगेपछि सुरु हुन्छ ।

झरेका पातपतिङ्र रुख बिरुवाका फेदमा ओछ्याउने, हरिया झार उखेल्ने, आँप र अन्य फलफूलका बोट सुमसुम्याउने, रुखिएका बोटमा पानी हाल्ने, तरकारी टिप्ने, तरकारी लिन आएका ब्यापारीलाई आफ्नो उत्पादन तौलेर दिने र हिसाब मिलान गर्ने हुजदारका दैनिकी बनेको छ ।

झन् अहिले त चाडवाडको मुख हुँदा ब्यापारी र वरपरका ग्राहकको माग पुर्‍याउन, बिरुवा गोडमेल गर्न र घरको कामको संयोजन गर्न भ्याइनभ्याइ नै पर्ने बगर खेतीका किसान बताउँछन् ।

‘अब दुःखका दिन बिर्सदै गएका छौँ, अचेल सधैँ काम छ, दिनहुँ तरकारी, फलफूल बेचेको पैसा हात पर्छ’ उनी भन्छन्, ‘दिनहुँ पालो लगाएर तरकारी टिपिन्छ, परवल, लौका, फर्सी, करेला, झिमनी, भिण्डी, काँक्रा र खोर्सानी, कागती टिप्न र बिक्री गर्न भ्याइनभ्याइ हुन्छ ।’

वृन्दामात्र नभएर पर्सा र सग्रामपुरका एक सय आठ परिवारको घरगुजारा, नानीहरुको पठनपाठन, स्वास्थोपचार र चाडपर्व यही बगरले दिएको छ । एक समय घरगुजाराकै लागि मालिकको खेतबारीमा काम गर्न जाने आफूहरु अब आफ्नै कामले फुर्सद नभएको बगर खेतीका किसान खुसी हुँदै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्