सल्यान। उच्च ज्वरोका कारण सल्यानको दार्मा गाउँपालिकामा पछिल्ला दुई सातामा चार महिलाको मृत्यु भएको छ।
दार्मा गाउँपालिकाका ३५ देखि ५५ वर्ष उमेर समूहका ती महिलाहरूको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए। लगातार उच्च ज्वरो आएपछि उनीहरूलाई नेपालगञ्ज लगिएको थियो।
ज्वरोका बिरामी बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान, दार्मा गाउँपालिका र स्थानीय जेनजी समूहको संयुक्त आयोजनामा वडा नं. ३ र ५ मा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
शिविरमा गरिएको परीक्षणमा ५१ जनामा स्क्रबटाइफस र दुई जनामा डेंगी संक्रमण पुष्टि भएको छ। दुई वडाका १२८ जनामध्ये ५१ मा स्क्रबटाइफस भेटिएको र दुई दिनमा कुल ४१२ जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरका अनुसार पछिल्ला तीन महिनामा दार्मा, बागचौर र छत्रेश्वरी क्षेत्रका १ सय १ जनामा स्क्रबटाइफस देखिएको छ। अहिलेसम्म उच्च ज्वरोका कारण पाँच महिला र एक पुरुष गरी छ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए।