सुर्खेत — सुर्खेत प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार वीरेन्द्रनगरका विभिन्न स्थानबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, १ लाख १ हजार ३३० रुपैयाँ नगद र अन्य सामग्री बरामद गरिएको हो।
प्रहरीले वीरेन्द्रनगर–५ का २८ वर्षीय हिमाल आलेलाई शंकास्पद अवस्थामा पक्राउ गरी उनका होटलको शौचालयको भेन्टिलेसनमा लुकाइएको ११.४ ग्राम ब्राउनसुगर फेला पारेको थियो।
त्यस घटनासँग सम्बन्धित मुलपानीका २६ वर्षीय सरोज ढकाललाई पनि पक्राउ गरिएको छ। उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, वीरेन्द्रनगर–१ मा गोप्य सूचनाका आधारमा ४७ वर्षीय म. गुरुङलाई नियन्त्रणमा लिँदा उनको शरीरमा ३.१८ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार तीनै जनामाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखिएको छ।