Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
विज्ञान र प्रविधि

आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

२९ कार्तिक २०८१, बिहीबार ११:२३

२९ कार्तिक, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

आज लिभिङ विथ आइसिटिले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे । उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आइटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए । यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आइटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उनले जानकारी गराए ।

आफ्नै कार्यकालमा काठमाडौँमा आइटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्नेसमेत प्रतिबद्धता जनाए । मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए । “स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, बिस्तारै व्यापक बनाउँदै लैजान्छौँ”, उनले भने, “डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ । यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनाबद्ध शैलीमा सूचना प्रविधिको विकास थालनी गर्दै छौँ ।”

कार्यक्रममा आइटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचना प्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकालले युवालाई स्वदेशमा टिकाउन प्रोत्साहन आवश्यक भएको बताउँदै यसका लागि औद्योगिक प्रतिष्ठानको सहकार्य जरुरी रहेको बताए ।

चेम्बर अफ कर्मसका सदस्य पंकज जलनले नीतिगत सुधार गरेर सरकारले युवालाई स्वदेशमै टिकाउने रणनीति ल्याउन आवश्यक रहेको बताए । ‘डिजिटल पेमेन्ट’मासमेत भ्याट लाग्दा प्रविधि प्रयोगकर्ता हतोत्साही भएको उल्लेख गर्दै उनले भ्याट हटाउन सरकार समक्ष अनुरोध गरे । पूर्वमन्त्री गणेश साहले नेपालमा आइटी हबको सम्भावना प्रशस्त भएको बताउँदै बेरोजगारी समस्या कम गर्न सकिने चर्चा गरे ।

लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य पूरा गर्न डिजिटल पूर्वाधार निर्माण, नीतिगत सुधारसँगै असल शासन आचरण पालना गर्न सुझाव दिए । शुक्रबारसम्म सञ्चालन हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा विभिन्न आइटीसम्बन्धी नवीन कार्य प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्