काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच बिहान गएको पहिरोका कारण बूढीगण्डकीमा लेदोसहितको बाढी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्। बाढीमा परी पाँच जना बेपत्ता भएको र उनीहरूको खोजी तीव्र पारिएको उनले बताए।
उनका अनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का खम्बा, निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरमा क्षति पुर्याएको छ । बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली खटिएर नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बिहान ६ः०० बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) का २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि एसएमएस पठाइएको जानकारी दिए ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाबाट गोरखा, धादिङ तथा चितवनको बेनीघाटसम्मका बासिन्दालाई दुई पटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना पठाइएको उनले उल्लेख गरे।
बाढी प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री शाहले बताए।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बल, नेपालका १७७ गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका चार वटा हेलिकप्टरसमेत उद्धार कार्यमा खटाइएको उनले जानकारी दिए।
बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन सदस्यीय टोली ड्रोनसहित परिचालन गरिएको छ भने नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर बसिरहेको र बाढीको अवस्था अनुगमन, विश्लेषण, सूचना सम्प्रेषण तथा उद्धार र राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताए।
प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ । सडक सञ्चालन र बेलिब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको छ । आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत थालिएको उनले उल्लेख गरे।
गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीलाई निर्देशन दिइएको छ ।
सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन, आवश्यक राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनःसञ्चालन गर्न आवश्यक कदम अघि बढाएको प्रधानमन्त्री शाहले बताए।