काठमाडौँ। नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वित्तीय विवरण अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो। भदौ मसान्तसम्ममा सञ्चिति ४.३ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ। अमेरिकी डलरमा हिसाब गर्दा यो सञ्चिति २६ अर्ब ४८ करोड डलर पुगेको छ, जुन असार मसान्तको तुलनामा ४.६ प्रतिशतले बढी हो।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ रहेको छ। भदौ मसान्तसम्मको तथ्यांक अनुसार कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आयातलाई आधार मान्दा २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ।
भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.६ प्रतिशत, कुल आयातसँगको अनुपात १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.९ प्रतिशत कायम भएको छ। असार मसान्तमा यी अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए।