Trending
यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |    
समाचार

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने- प्रचण्ड

३० कार्तिक २०८१, शुक्रबार १२:४५

३० कार्तिक, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परिवेशअनुसार जगबाटै उमार्नुपर्ने बताएका छन् ।

सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद अरु देशको नक्कल गर्ने विषय नभएको बताए ।

उनले भने, ‘समाजवाद नक्कल गरेर आउँदैन । कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर आउँदैन । यसलाई त आफ्नो परिवेशअनुसार, उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’

आफूहरुले जनयुद्धको बेलामा समाजवादबारे अध्ययन र बहस थालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जतिबेला हामी जनयुद्धमा थियौं, त्यतिबेला आफ्नै संस्कृति, आफ्नै अर्थतन्त्र र आफ्नै न्यायालय निर्माण गर्ने प्रक्रियामा थियौं । त्यतिबेला विश्वमा कयौं समाजवादी सत्ताहरु ढलेका थिए भने कयौं नयाँ तरिकाले अघि बढ्दै थिए । ती सबै सत्ताहरुको अध्ययन गरेर, मैले अलि बढी मेहनत गरेर मैले एक्काइसौं शताब्दीको जनवाद भन्ने दस्तावेज तयार पारेको थिएँ ।’

अहिले आफूले त्यसको ब्याख्या गर्न नचाहे पनि त्यसमा राखिएको एउटा विषय जनता र सत्ताबीचको सम्बन्धमा स्पष्ट हुनैपर्ने उल्लेख गर्दै भने, ‘एक्काइसौं शताब्दीको जनवादमा एउटा कुरा स्पष्टका साथ राखेको थिएँ– जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपसहितको सत्ता मात्रै वास्तविक समाजवादी सत्ता हुनेछ । अब पनि हामीले समाजवादको बहस गर्दा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सरकार र जनताबीचको सम्बन्ध के हुन्छ भनेर स्पष्ट गर्नैपर्छ । जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपविनाको सरकार जनताको सरकार हुन सक्दैन, त्यो अन्ततः जनविरोधी नै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्