काठमाडौं। राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा ‘ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व’ विषयक स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम शुक्रबार काठमाडौंको नक्सालस्थित होटल होलिडे इनमा सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, समाजसेवी तथा व्यवसायी सुरबहादुर श्रेष्ठ विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष श्री विशाल हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रका चार जना विशेषज्ञ वक्ताहरूले फलफूल तथा तरकारीको स्वच्छता, स्वस्थ जीवनशैली र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा छाला रोग विशेषज्ञ डा. मोहन भुसाल, मेडिकल अंकोलोजिस्ट तथा सहायक प्राध्यापक डा. समिम अख्तर, कन्सल्टेन्ट फिजिसियन तथा क्लिनिकल कार्डियोलोजिस्ट डा. रोशन कुमार झा र नर्सिङ इन्चार्ज आर.एन. रेणुका क्षेत्रीले आ–आफ्नो विशेषज्ञताका आधारमा स्वास्थ्य सचेतना प्रदान गर्नुभएको थियो।
विशेषज्ञ वक्ताहरूले ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व, फलफूल तथा तरकारीको स्वच्छता कायम गर्ने उपाय, छालाको स्वास्थ्य, क्यान्सरको जोखिम न्यूनीकरण, मुटुको स्वास्थ्य तथा सन्तुलित आहारको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। साथै, फलफूल तथा तरकारीलाई उचित तरिकाले सफा गर्ने, स्वच्छ उपभोगका अभ्यास अपनाउने र स्वस्थ जीवनशैली कायम गर्ने विषयमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय युवापुस्तामा कृषि क्षेत्रप्रति बढ्दै गएको आकर्षण र युवाहरू कृषि पेसामा प्रेरित भइरहेको देख्दा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले कृषि क्षेत्रमा युवाहरूको सक्रिय सहभागिताले यस क्षेत्रको विकास, आधुनिकीकरण र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, यस महत्वपूर्ण जनचेतनामूलक कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडसँग सहकार्य गर्न तथा कम्पनीका भावी कार्यक्रमहरूमा सहभागी हुन आफू इच्छुक रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ४० जना सञ्चारकर्मी तथा मिडिया प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्वास्थ्य विशेषज्ञहरूबाट प्रत्यक्ष रूपमा जानकारी प्राप्त गर्ने अवसर पाएका सहभागीहरूका लागि कार्यक्रम जानकारीमूलक तथा प्रभावकारी बनेको थियो।
सञ्चारकर्मीहरूको सहभागिताले ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्व, खाद्य स्वच्छता र स्वस्थ जीवनशैलीसम्बन्धी सन्देशलाई आम नागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
कृषि क्षेत्रको विकास, कृषकको हित तथा स्वस्थ र गुणस्तरीय फलफूल तथा तरकारीको उपभोगसम्बन्धी जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले यस कार्यक्रममार्फत कृषि, फलफूल तथा तरकारीको स्वच्छता र जनस्वास्थ्यबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको हो।
कार्यक्रमले ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे जानकारी विस्तार गर्नुका साथै स्वास्थ्य विशेषज्ञ र सञ्चारकर्मीबीच ज्ञान आदानप्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।
यस्ता जनचेतनामूलक कार्यक्रमले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न, कृषि क्षेत्रप्रति युवापुस्ताको आकर्षण बढाउन तथा फलफूल र तरकारीको स्वच्छताप्रति आम नागरिकलाई जागरूक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।