काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल अपराधीहरूको भाग्ने बाटो र आश्रयस्थल बन्ने खतरा रहेको भन्दै सरकारलाई सचेत रहन आग्रह गरेका छन्।
भारतीय प्रहरीले बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको आरोपमा राजस्थानको कोटाबाट पक्राउ परेका अभियुक्तहरू नेपाल हुँदै भाग्ने तयारीमा रहेको जानकारी सार्वजनिक गरेपछि बस्नेतले सीमा सुरक्षा कडा बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले नेपाल अपराधीहरूको सुरक्षित गन्तव्य बन्न नदिने गरी काम गर्न सरकारलाई सुझाव दिएका छन्। ‘प्रसंग गम्भीर छ। नेपाल अपराधीहरूको भाग्ने बाटो र आश्रयस्थल बन्ने खतरा बढ्दै छ।
सरकार सचेत बनोस्, सीमा सुरक्षा कडा होस् र अपराधीलाई नेपालमा लुक्ने सुरक्षित ठाउँ नबनाइयोस्,’ बस्नेतले भनेका छन्। उनले नेपाललाई अपराधीहरू लुक्ने सुरक्षित स्थल बन्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।