Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

११ कार्तिक २०८१, आईतवार ०७:१३

११ कार्तिक,खोटाङ। साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्धुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ ।

नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्धुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ ।

प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्धुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ ।

शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौँलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्धुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताए।

‘असोज लागेसँगै हूलका हूल पर्यटकहरू घुम्न आउने गर्छन् । मुन्धुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । भेडीचोक तथा चौँरी गोठमा बस्न दिने गरेका छौँ’, मैयुङको लेकमा व्यावसायिक रुपमा भेडापालन गर्दै आउनुभएका समीपले भने, ‘राज्यले यसप्रति ध्यान दिन जरुरी छ । भर्खरै पहिचान गरिएको मुन्धुम ट्रेललाई प्रवर्द्धन गर्न सकेमा स्थानीय बासिन्दाका लागि मात्र नभई राज्यलाई समेत आर्थिक रुपमा ठूलो टेवा पुग्ने सम्भावना छ ।’

पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्धुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । नेपालका लागि यो नयाँ (भर्जिन) पर्यटकीय गन्तव्यस्थल मुन्धुम ट्रेलको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको हो ।

खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।

पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्धुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।

हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत हुँदैन । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरू रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लिखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्धुम ट्रेल’ राखिएको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए ।

‘छ वर्षअघिदेखि सुरु गरिएको मुन्धुम ट्रेल स्तरोन्नतिको काम करिब ६५ प्रतिशत पूरा भएको छ । आगामी चार वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने योजनामा छौँ’, उनले भने, ‘पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरु सजिलै देख्न सकिन्छ । उच्च हिमाली शृङ्खला तथा सबैभन्दा होचो स्थानमा रहेको अरुण उपत्यकाका साथै तराईका फाँटहरू अवलोकन गर्न सकिने यो पदमार्गमा पर्यटकका लागि स्थानीयवासीले होमस्टे (घरबास) समेत विस्तार गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्