Trending
रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा     |     ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित     |     जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु     |     प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा     |     बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ     |     वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न     |     जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला     |     पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै     |     कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

१५ कार्तिक २०८१, बिहीबार १३:४१

१५ कार्तिक, बागलुङ । जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ ।

तिहारमा बढी प्रयोगमा आउने परिकारका रुपमा मानिएको झिनियाँ र चिनी रोटीसहित विभिन्न रोटीका परिकारको माग उच्च रहेको छ ।

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि यसअघि घरमा बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् । अहिले तिहार सुरु भएसँगै बागलुङ बजारका विभिन्न महिला उद्यमीले उत्पादन गरेका रोटीका परिकार खरिद गर्नेको घुइँचो लाग्ने गरेको हो ।

बागलुङ नगरपालिका–२ स्थित मरेपिपलमा झिनियाँसहित सात प्रकारका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले तिहार सुरु भएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत परिकारको माग उच्च भएको बताइन् ।

११ वर्षदेखि व्यावसायिक रुपमा रोटीका परिकार बनाएर बिक्री गर्दै आएकी उनले अन्य समयमाभन्दा तिहारमा बढी बिक्री हुने उल्लेख गरिन् । हिन्दू धर्मावलम्बीको दोस्रो ठुलो पर्व तिहारका अवसरमा बढी प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ ।

“पहिला झिनियाँको मात्रै व्यापार हुन्थ्यो, पछिल्लो समय झिनियाँमा रङ्ग मिसाउन छोडेपछि सेतो झिनियाँ मात्रै बिक्री गर्छौँ । चिनी तथा फिनी, तयारी सेल रोटीको माग उच्च छ । तयारी रोटी बनाउन झन्झटिलो हुने भएकाले बजारबाट खरिद गरेर लैजाने प्रचलन बढेको पाइएको छ”, श्रेष्ठले भनिन्, “यस पटक चिनी, फिनी र सेल रोटीको माग बढी छ ।”

तिहारको समयमा झिनियाँको माग बढ्न थालेपछि श्रेष्ठसहित यहाँका अन्य घरेलु उद्यमी महिलालाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । महिला उद्यमी श्रेष्ठले यस पटक सेतो झिनियाँ बजारमा ल्याएको बताउँदै रङ्ग मिसाएका परिकार बिक्री गर्न पालिकाले रोक लगाएपछि रङ्ग मिसाउन बन्द गरिएको उनले उल्लेख गरिन् ।

श्रेष्ठले दसैँतिहारको समयमा मात्रै तयारी रोटी बिक्री गरेर रु चारदेखि रु ६ लाख आम्दानी हुने जानकारी दिइन् । तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य पूजाआजा र चाडपर्वमा पनि माग हुने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्