Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
समाचार

१५ शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

६ आश्विन २०८१, आईतवार ०२:२४

६ असोज,नवलपरासी। बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ ।

विसं २०७५ मा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो । त्यसयता अस्पतालमा बिरामीको चाप निकै बढेको छ तर अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल रेकर्डर हेरम्ब आचार्यले बताए।

अस्पताल प्रशासनले बिरामीको चाप बढेपछि हाल ७८ शय्यामा सेवा दिइरहेको छ तर स्वीकृत दरबन्दी १५ शय्याको मात्र हुँदा जनशक्ति व्यवस्थापनको समस्या पेचिलो बनेको उनले बताए । “जिल्ला अस्पताल भनेपछि बिरामीको चाप दिनानुदिन बढ्दै गएको छ, हामीले बाध्यताले शय्या थप गर्यौँ तर जनशक्ति कम छ, पूर्वाधार र संरचनाको समस्या उस्तै छ”, आचार्यले भने,“नगर अस्पताल नै १५ शय्यामा सञ्चालन भएको थियो । जिल्ला अस्पतालसमेत सोही बराबरको स्वीकृतिमा सञ्चालन गर्दा निकै समस्या भोगिरहेका छौँ ।”

अस्पतालमा उपचारका लागि आउनुभएका अरुणखोलाका गुणाखर गिरीले सामान्य जाँचका लागि पनि दिनभर बिताउनुपर्ने अवस्था रहेको गुनासो गरे। टिकट काट्नदेखि चिकित्सकलाई देखाउन धेरै समय लाग्ने गरेको र प्रयोगशालामा जाँच गराएको रिपोर्ट प्राप्त गर्न पनि उस्तै समस्या रहेको उनले सुनाए । “ज्वरो आएर जिल्ला अस्पतालमा डाक्टर खोज्दै आउँदा दुःख पाइयो, झन् बिरामी भइएलाजस्तो भयो । जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन आवश्यक छ”, गिरीले भने ।

जिल्ला अस्पतालमा हाल दैनिक सरदर चार सय बिरामीले सेवा लिने गरेका छन् । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा सो योजनाले मूर्त रूप पाउन सकेको छैन । अस्पतालमा हाल एक सय ५५ जना कर्मचारी छन् तर स्वीकृत दरबन्दी भने ३१ मात्र रहेको छ । अरु करार र विभिन्न कार्यक्रमतर्फका कर्मचारीले अस्पताल चलाउनुपर्ने अवस्था रहेको मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्यले जानकारी दिए ।

“अस्पताल समितिले जेनतेन अस्पताल सञ्चालन गरिरहेको छ तर कर्मचारी, पूर्वाधारको समस्याले दैनिक सरदर चार सय बिरामीलाई सेवा दिन निकै समस्या छ । पचास शय्यामा स्वीकृत भए प्रदेशबाट जनशक्ति थप भई सेवा दिन सहज हुने थियो । त्यसैले यो प्रक्रिया छिटो टुङ्ग्याउँन हाम्रो आग्रह छ”, उनले भने ।

शय्या थप नहुँदा भोग्नुपरेका समस्या त छँदैछन् । अस्पतालले जग्गाको भोगाधिकारसमेत प्राप्त गर्न सकेको छैन । दश दशमलव ४९ हेक्टर जमिन अस्पतालले उपभोग गर्दै आएको भए पनि दुई दशमलव पाँच हेक्टरमात्र स्वामित्वमा रहेको अस्पताल प्रशासनले जनाएको छ । बाँकी जमिन भोगाधिकारका लागि पहल नभएको होइन तर त्यो प्रयास सफल भएको छैन । यसले गर्दा दातृ निकायबाट आउने सहयोग प्राप्त गर्न पनि समस्या भइरहेको मेडिकल रेकर्डर आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्