Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
समाचार

चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ : ट्रम्प

६ कार्तिक २०८२, बुधबार २२:३२

वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा व्यक्त गरे पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागू गर्ने आफ्नो निर्णयमा अडिग रहने स्पष्ट गरेका छन्।

‘चीन अझै पनि रुसको सबैभन्दा ठूलो तेल आयातकर्ता रहेको छ, त्यसैले हामीले त्यसबारे विचार गर्नैपर्छ। हाल नोभेम्बर १ देखि चीनले यसमा करिब १५५ प्रतिशत कर तिर्नुपर्नेछ। मलाई लाग्दैन कि यो उनीहरूका लागि दिगो रहनेछ,’ मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म चीनसँग राम्रो हुन चाहन्छु, तर चीन वर्षौंदेखि हामीसँग अत्यन्त कठोर व्यवहार गर्दै आएको छ। हाम्रा अघिल्ला राष्ट्रपतिहरूले व्यापारमा पर्याप्त समझदारी देखाउन सकेनन्, जसका कारण चीन र अन्य देशहरूले अमेरिकाको फाइदा उठाए।’

ट्रम्पले आफूले युरोपेली सङ्घ (इयु), जापान र दक्षिण कोरियासँग शुल्क–आधारित व्यापार सम्झौता गरेको स्मरण गर्दै ती सम्झौताहरू ‘राष्ट्रिय सुरक्षासँग सम्बन्धित’ रहेको बताए। उनले भने, ‘मैले युरोपेली सङ्घसँग सम्झौता गरेँ, जापान र दक्षिण कोरियासँग पनि गरेँ। यी सबै ठूला सम्झौताहरू हुन्। यो राष्ट्रिय सुरक्षाको कुरा हो। भन्सार शुल्कका कारण म ती गर्न सक्षम भएँ। अहिले हामी सयौँ अरब डलर सङ्कलन गरिरहेका छौँ र देशको ऋण तिर्न थाल्नेछौँ।’

ट्रम्पको यो निर्णयले ऊर्जा व्यापारमार्फत युक्रेनमा भइरहेको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गर्ने देशहरूविरुद्ध वासिङ्टनले अपनाइरहेको कडा ‘द्वितीयक ट्यारिफ’ रणनीतिलाई झल्काउँछ। अघिल्लो नीतिहरूले भारतलाई पनि लक्षित गरेका थिए। भारतमाथि रूसी तेल आयात गरेको भन्दै ५० प्रतिशत कर लगाइएको थियो। यसपटक भने यो नीति चीनतर्फ केन्द्रित देखिएको छ। चीन हाल रुसको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न सफल भएको छ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा एक पोस्टमार्फत चिनियाँ सामानहरूमा ‘उनीहरूले अहिले तिरिरहेका कुनै पनि करबाहेक थप १०० प्रतिशत कर’ नोभेम्बर १ देखि लागू गर्ने घोषणा गरेका थिए। उनका अनुसार यो निर्णय चीनले संयुक्त राज्य अमेरिकासँग ‘व्यापारमा असाधारण आक्रामक र शत्रुतापूर्ण’ व्यवहार गरेको प्रतिक्रियामा आएको हो।

उनले आफ्नो पोस्टमा लेखेका थिए, ‘चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएको छ र व्यापारमा असाधारण आक्रामक स्थिति लिएको छ। त्यसैले सन् २०२५ नोभेम्बर १ देखि (वा चीनले गर्ने कुनै परिवर्तनको आधारमा चाँडो पनि) संयुक्त राज्य अमेरिकाले चीनमा हाल तिरिरहेका करभन्दा माथि १०० प्रतिशत कर थप गर्नेछ। सोही मितिदेखि सबै महत्त्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गरिनेछ।’

ट्रम्पले चीनले ‘विश्वका सबै राष्ट्रहरूलाई असर पार्ने गरी ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने’ तयारी गरेको आरोप लगाए। उनले लेखे, ‘चीनले सन् २०२५ नोभेम्बर १ देखि आफूले उत्पादन गर्ने लगभग सबै वस्तुमा निर्यात नियन्त्रण लगाउने निर्णय गरेको छ, जसले कुनै अपवाद बिना सबै देशलाई असर गर्नेछ। यो अन्तर्राष्ट्रिय व्यापारमा नैतिक अपमान सरहको कदम हो।’

राष्ट्रपति ट्रम्पको यो नीति अमेरिकाको घरेलु उत्पादनलाई प्राथमिकता दिँदै चीनसँगको व्यापार असन्तुलन घटाउने दीर्घकालीन रणनीतिक प्रयासको रूपमा व्याख्या गरिएको छ।

प्रतिक्रिया दिनुहोस्