सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले हालैको अभियानमा लागुऔषध, अवैध पटका, जंगली च्याउ, काठ र घरेलु मदिरा बनाउने मर्चासहित ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ।
साथै, विभिन्न मुद्दामा फरार रहेका ५४ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको छ। प्रहरीका अनुसार, छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट ९.६५ ग्राम खैरो पदार्थ (ब्राउन सुगर) र दुई मोटरसाइकलसहित कृष्णबहादुर वली र संगीत परियार पक्राउ परेका छन्।
शारदा नगरपालिका–१ श्रीनगर बजारस्थित एक पसलबाट विभिन्न कम्पनीका ६८ प्याकेट अवैध पटका बरामद गरिएको छ। त्यस्तै, बनगाड कुपिण्डे–१ सल्लीबजारमा चेकजाँचका क्रममा ४८ केजी जंगली रातो च्याउ, करिब ९४०० केजी सल्लाको आँख्ला र २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले सबै सामग्री, गाडी र चालकहरूलाई सम्बन्धित कार्यालयमा बुझाएको छ। साथै, फरार प्रतिवादीहरूको खोजी अभियान अझै तीव्र पारिएको प्रहरीले जनाएको छ।