Trending
राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |    
समाचार

पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२५ असार २०८२, बुधबार २०:३४

कर्णाली। तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो ।

अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन्, ‘यस वर्षको मनसुन सुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ छ ।’

राती पानी पर्‍यो भने आफूलाई लाग्ने डर त छँदै छ बच्चाहरुले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ । घर छोडेर जाने सुरक्षित स्थान कतै छैन । पहाडको खोचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टी मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ ।

तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जीर्ण छ । नजिकै अस्थायी प्रहरी पोस्ट छ । पोस्टको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोस्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ । सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा, ‘राती ठूलो पानी पर्‍यो भने हामीलाई निन्द्रा आउँदैन ।

घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराईरहन्छन् । पानी पर्‍यो भने हामीलाई पनि डर लाग्छ । बच्चा त झनै डर मान्छन् । कता जाने ? सरकारी भवन जाउँ भने पनि त्यो पनि जोखिममा छ । प्रहरी चौकी पनि दोहोरो खोलाको जोखिममा छ । हामीलाई तटबन्ध गरेर सहयोग गरे हुन्थ्यो ।’

पहिरोले खेतबारी बगाएपछि स्थानीय गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ । संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपद्मा उद्धारका सामग्री थियो । विपद्मा ज्यान जोगाउन सिकायो । सिँचाइको व्यवस्था गर्‍यो । अहिले तरकारी खेती गर्न सहज भएको छ ।

जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ । तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दा लाई । उनी भन्छिन्, ‘३ वर्षअघि आएको बाढीले ५ कठ्ठा जग्गासहित घर पनि बगाइदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो । कुलो बनाइदिएको छ । अहिले धान, गहुँ रोप्छौं । तरकारी खेती पनि गर्छौं । तरकारीको टनेल, बीउ दिनुहुन्छ । तालिम दिनुहुन्छ । अहिले एकदम सजिलो भएको छ । बाटोघाटो पहिरोले बन्द गर्‍यो भने समूह गएर मिलेर पहिरो पन्छाउने गर्छौं ।’

हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी पर्‍यो भने तारापानी बासी निदाउन सक्दैनन् । तटबन्ध गर्न स्थानीयवासीले संघ, प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरे । तर कतैबाट सुनुवाइ भएको छैन । स्थानीय विजय रावल विपद्को तालिमसहित उद्धारका सामग्री पनि दिएको भए सहज हुने बताउँछन् ।

रावलले भने, ‘हिजो त्यत्रो पानी पर्‍यो । खोला नजिकको बस्ती भएकाले पानी पर्ने बित्तिकै हामी जोखिममा पर्छौं । तटबन्धका लागि गाउँपालिकासँग माग गर्‍यौं । संघ प्रदेशसँग पनि माग राख्यौं । तर कतैबाट सुनुवाइ भएन ।’

विक्रम सम्वत २०७९ भन्दा अघि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा ठूलो क्षति गर्‍यो । ६० घरधुरी रहेको तारापानीका ७ घर बाढीले पूर्णरुपमा ध्वस्त बने । बाढी प्रभावित तारागाउँ बासीले अहिलेसम्म राहतको नाममा सरकारबाट केही पाएका छैनन् ।

पीडितको तथ्यांक मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भइसक्दा पनि राहत वितरण प्रक्रिया अघि बढाएको छैन । स्थानीय जिएसएस संस्थाले तारापानी विपद् समूह गठन गरी विपद् प्रतिकार्यमा स्थानीयलाई जुटायो । खोलाको पानी डाईभर्सन गरेर सिँचाइ, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री लगायतमा स्थानीय गैह्रसरकारी संस्थाको सहयोग पाएपछि अहिले तारापानीबासी आफैं विपद् व्यवस्थापनमा जुटेका हुन् ।

स्थानीय मानबहादुर बुढा सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको बताउँछन् । स्थानीयतहमा काम गर्दै आएको जिएसएस संस्थाले दिएको विपद् उद्धार सामग्रीलाई अस्थायी प्रहरी पोष्टको कार्यालयमा राखिएको छ । अस्थायी प्रहरी पोष्ट तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्,–‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरु जिम्मा लगाउनुभएको छ त्रिपाल, लाईफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उदारका सामानहरु संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ ।

यहाँ बाढीको जोखिम छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौ । पानी पर्यो भने माथिबाट ढुंगा झर्ने, अनि अगाडि नै खोला भएकाले बाढीको पनि जोखिम छ । ’

सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरुमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् । उनले दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

उनले भने, ‘ म आफैं पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ, हामीले निजी क्षेत्र र संघसंस्थालाई सहजीकरण गरेर विकास निर्माणका कामहरुमा सहकार्य गर्नुपर्छ ।

नेपाल सरकारको बजेटले मात्रै पूर्वाधारका कामहरु गर्न नसक्ने भएकाले दुर्गम र पछाडि परेका क्षेत्रको भौतिक पूर्वाधार निर्माण लगायत विकासका कार्ययोजनाहरुमा संघसंस्थालाई संलग्न गराउनुपर्छ । -न्युज एजेन्सी नेपालबाट साभार 

प्रतिक्रिया दिनुहोस्