Trending
कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी     |     सर्वोच्च अदालतमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस     |     कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त     |     दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे     |     दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश     |     कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता     |     नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |    
समाचार

कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त

२० आश्विन २०८३, मंगलवार १९:५४

काठमाडौं। राष्ट्रिय रग्बी टोलीका पूर्वकप्तान कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाली सेनाले उनलाई सेनाको महिला र पुरुष दुबै टोली हेर्ने गरी प्रशिक्षक नियुक्त गरेको हो । न्युजिल्यान्ड र अस्ट्रेलियाबाट ‘कोचिङ एक्सपोजर’ प्रशिक्षण लिएर फर्केका थापासँग अन्तर्राष्ट्रिय र घरेलु प्रशिक्षणको लामो अनुभव छ ।

खेलाडीको रूपमा थापाले राष्ट्रिय रग्बी सेभेन्स र फिफ्टिन्स दुबैमा कप्तानीको भूमिका निर्वाह गरिसकेका छन् ।

थापाले राष्ट्रिय यू-१८ टोलीका प्रशिक्षण रहिसकेका छन् । उनको प्रशिक्षणमा युवा टोलीले भारत र बंगलादेशलाई पराजित गरेको थियो ।

त्यसैगरी उनकै प्रशिक्षणमा राष्ट्रिय सेभेन्स ब्वाइज टिमले सन् २०२३ मा बंगलादेशलाई पराजित गरेको थियो । जुन नेपाली रग्बीको पहिलो अन्तर्राष्ट्रिय जित पनि थियो । उनले यू-१४ एसियन एक्सचेञ्ज फेस्ट जापानमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय तहमा उनी लुम्बिनी र कर्णाली प्रदेशका प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा लुम्बिनीले नवौँ बृहत् राष्ट्रिय खेलकुदमा रजत पदक जितेको थियो भने कर्णाली प्रदेशले रारा सेभेन्स, पोखरा सेभेन्स र वाग्मती सेभेन्सको च्याम्पियन बनेको थियो ।

थापा नेपाली रग्बीको चर्चित क्लब गोर्खाली रग्बी क्लबका उपाध्यक्ष र प्रशिक्षक पनि हुन् । गोर्खाली क्लबले उनको नेतृत्वमा थुप्रै उपाधि जितेका छन् ।

खेलाडीका रूपमा कृष्णको कार्यकालमा थुप्रै उपलब्धिहरू हात पारेका छन् । जसमा सन् २०२२ मा बंगलादेशमा खेलेको रग्बी-१५ खेललाई नेपाली रग्बी विकासको ठूलो फड्को मानिन्छ ।

७ खेलाडी सम्मिलित रग्बी सेभेन्स मात्र खेलिरहेको नेपालले त्यो बेला ढाकामा ‘वङ्गबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी शृङ्खला’ खेल्यो, जुन १५ जना खेलाडीहरूले खेल्ने ‘रग्बी १५’ मा नेपालको पहिलो सहभागिता थियो ।

उक्त प्रतियोगिता खेलेसँगै नेपालले विश्व रग्बी महासंघबाट पूर्ण सदस्यता प्राप्त गरेको थियो भने नेपालले अन्तर्राष्ट्रिय रग्बीमा डिभिजन ३ खेल्ने राष्ट्रको रूपमा प्रवेश पाएको थियो ।

त्यस्तै खेलाडीका रूपमा उनले सन् २०१६ मा कतारमा एसियन रग्बी च्याम्पियनसिप र सिंगापुरमा एसियन रग्बी च्याम्पियनसिप २०१७ तथा ताइवानमा युनिभर्सियाड २०१७ मा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्