Trending
रास्वपाका नेत्री राई एमालेका प्रवेश     |     देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन:…     |     तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा     |     नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा     |     प्रधानमन्त्री ओली भगौडा दलाल बर्गको संरक्षक भए : प्रभु साह     |     गुरूङ वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित     |     लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ     |     चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु     |     बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने     |     इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव     |    
समाचार

एकीकृत समाजवादीमा आन्तरिक कलह बढ्यो, पाँच सांसद नयाँ भविष्यको खोजीमा

२५ असार २०८१, मंगलवार ०१:२८

नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी ३ वर्ष नपुग्दै पार्टीभित्र आन्तरिक कलह देखिन थालेको छ । एकीकृत समाजवादीले गत साता मात्रै १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

पाँच सांसद नयाँ भविष्यको खोजीमा

पार्टीको महाधिवेशन चलिरहँदा समाजवादीका नेता प्रेमबहादुर आले भारत भ्रमणमा निस्किए । उनी महाधिवेशन सकिएपछि मात्रै नेपाल फर्किए । उनीसँगै सांसद किसनबहादुर श्रेष्ठ पनि पार्टीमा विगत दुई महिनादेखि निष्क्रियजस्तै देखिन्छन् । नेता आले र श्रेष्ठसँग अहिले ५ जना सांसद रहेको दाबी छ ।

पार्टीको महाधिवेशन छाडेका नेता आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने घोषणा नै गरेका छन् । भारत भ्रमणबाट फर्केलगतै उनले आफू जनमोर्चाको जतिको हैसियत पनि नभएको पार्टीमा फर्केर नजाने बताए । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई समेत प्रेम आलेले अब एकीकृत समाजवादीमा सक्रिय राजनीति नगर्ने जवाफ दिइसकेका छन् । त्यसैले, गएको महाधिवेशनमा उनको नाम केन्द्रीय सदस्यमा समेटिएन ।

आले आफू आठ महिनादेखि पार्टीको कुनै पनि गतिविधिमा संलग्न नभएको बताउँछन् । ‘संसदीय दलको बैठकमा माधव कमरेडले मलाई किन फोन नउठाउनुभएको भन्नुभयो, मैले तपाईंको नम्बर नै मेरो मोबाइलमा छैन भनेर जवाफ दिएँ,’ नेता आलेले राजधानी दैनिकसँग भने, ‘पार्टी अध्यक्षको नम्बर छैन भनेपछि तपाईंसँग अब कसको नम्बर छ त भनेर प्रश्न गरेपछि मैले अशोक राई, प्रदीप यादवलगायतको नम्बर छ भनेर जवाफ दिएँ ।’

आफूले जवाफ दिएपछि माधव कमरेड चुपचाप बसेका र त्यही दिनदेखि अब तपाईंको पार्टीमा म कुनै पनि हैसियतमा बस्दिनँ भनेर जवाफ दिएको आलेले बताए । उनले भने, ‘त्यसपछि म समाजवादीको पार्टी कार्यालयमा फर्किएको छैन ।’

भविष्यमा अरू राजनीतिक दलमा पनि नलाग्ने भन्ने प्रश्नमा उनले भविष्यमा जे पनि हुनसक्ने बताए । कम्युनिस्ट पार्टीमा सक्रिय हुने हो वा डेमोक्र्याट पनि हुने भन्ने प्रश्नमा उनले कुनै विचार बनाएर आफू नबसेको बताए । ‘भोलि म डेमोक्र्याट पनि हुन सक्छु, कम्युनिस्ट पनि हुन सक्छु,’ आलेले भने, ‘अहिलेलाई म स्वतन्त्र छु ।’ तर, आउँदो २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा लिन लागेको विश्वासको मतमा भने एकीकृत समाजवादीले भनेको निर्णय मान्ने आले बताउँछन् । औपचारिक रूपमा पार्टी नछाडेसम्म ह्वीप भने मान्न बाध्य भएको आले बताउँछन् । पार्टी ह्वीप नमाने पार्टीले स्पष्टीकरण सोध्नसक्ने र सांसद पदबाटै निलम्बन गर्नसक्ने भएकाले पनि आलेलगायत पाँच सांसद ह्वीप उल्लंघन नगर्ने पक्षमा छन् ।

पार्टी बैठकमै प्रेम आलेले पार्टी अध्यक्ष नेपाललाई भने– ‘तपाईंको नम्बर मेरो मोबाइलमा छैन, अब फोन नगर्नू’

एकीकृत समाजवादीका अर्का सांसद अब नेपाल नेतृत्वको पार्टीमा बस्नुको औचित्य सकिएको बताउँछन् । नाम नबताउने सर्तमा ती सांसदले भने, ‘पार्टीको कार्यदिशा नै सही ट्र्याकमा नभएको र अध्यक्ष नेपालले आफूखुसी एकलौटी निर्णय गर्ने गरेकाले मजस्तै धेरै साथीहरू सन्तुष्ट छैनन् ।’ जनमानसमा भन्दा पनि पार्टीका अध्यक्ष स्वार्थकेन्द्रित राजनीतिमा लागेको ती सांसदको अरोप छ ।

एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी गठनको औचित्य पुष्टि भएको समाजवादीका अध्यक्ष नेपालले रटान लगाउँदै आए पनि सो पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । एकीकृत समाजवादीका पाँच जना संघीय सांसद जुनसुकै बेला पनि पार्टी छाड्ने मनस्थितिमा छन् ।

२३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनस्र्थापित एमालेमा नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएका थिए । एमालेको पार्टीको अनुशासनबाहिर गतिविधि गर्दै आइरहेका नेपाल समूह अध्यादेशबाट दल विभाजनका लागि सहज वातावरण खोजिरहेका थिए । संसद् पुनस्र्थापनापछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि संघीय संसद् वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । २४ घण्टा बित्न नपाउँदै निर्वाचन आयोगले ५६ जनाको सनाखत गरेर पार्टीको नाम नेकपा एकीकृत समाजवादीको प्रमाणपत्र दिएको थियो । त्यसपछि निरन्तर सरकारमा रहँदै आइरहेको एकीकृत समाजवादीले गत साता मात्रै भएको व्यवहारतः पहिलो भए पनि एकीकृत समाजवादी नेकपा एमालेको लिगेसी आफूसँगै रहेको बताउँदै महाधिवेशनलाई १०औं भनेको छ ।

तर, एमालेबाट किन विद्रोह गर्नुपरेको हो भन्ने विषय भने एकीकृत समाजवादीले अहिलेसम्म पुष्टि गर्न सकेको छैन । यद्यपि, समाजवादी अध्यक्ष नेपालले आफू पुनः अध्यक्षमा निर्वाचित हुनुलाई विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै आइरहेका छन् । एकीकृत समाजवादीले पार्टीलाई एकढिक्का बनाएर सबैलाई समेटेर लैजाने भनिरहँदा सोही पार्टीका नेताहरू अब समाजवादीको औचित्य नभएको बताउँदै आइरहेका छन् । एकीकृत समाजवादीभित्रको सत्ता संघर्ष र नेतृत्वमा को अगाडि बढ्ने भन्ने विवादले पार्टीको भविष्य नै अन्योल रहेको सोही पार्टीका नेताहरूको भनाइ छ ।

एमालेबाट अलग भएपछि निरन्तर सरकारमा रहँदै आइरहेको सो पार्टी अब हुने नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिको सरकारबाट भने अलग रहने देखिएको छ । नेपाल नेतृत्वको सरकार सहभागी नगराउँदा पनि स्पष्ट बहुमत पुग्ने देखिएकाले पनि अब हुने सरकार गठनमा एकीकृत समाजवादी र माओवादी केन्द्र भने प्रतिपक्षमा रहनेछन् । राजधानी दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्