Trending
हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |     सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना     |     आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे     |     आज तिहारको मुख्य दिन भाइटीका     |     आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट     |     सल्यानमा प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद, ५४ जना फरार प्रतिवादी पक्राउ     |     कर्णाली नदीमा हाम फालेकी किशोरी मृत फेला     |     जेनजी आन्दोलनका घाइते भन्छन्- घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले     |     कलाकारसँग प्रधानमन्त्रीको आग्रह- दुष्प्रचार चिर्न भूमिका खेलिदिनुहोस्     |     चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ : ट्रम्प     |    
विज्ञान र प्रविधि

सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

२४ मंसिर २०८१, सोमबार ०३:११

काठमाडौँ। तपाईँले फेसबुक, टिकटक, स्न्यापच्याट, यूट्यूब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ?

त्यसो नभए पनि तपाईँले पक्कै आफूले चिनेका बालबालिका वा किशोरकिशोरीको सामाजिक सञ्जालमा खाता देख्नुभएको होला। तर कानुनअनुसार ती कतिपय बालबालिकाको त्यस्तो खाता खोल्न उमेर पुगेकै हुँदैन। नेपालसहितका देशमा यी माथि उल्लेखित सामाजिक सञ्जालहरूमा खाता खोल्नका लागि कम्तीमा १३ वर्षको उमेर हुनुपर्छ।

नेपालमा पनि धेरैले सामाजिक सञ्जालमा साना बालबालिकाको खाता खोलिदिएका छन्। बालबालिकाको उमेर नढाँटी त्यो सम्भव हुँदैन तर सामाजिक सञ्जालहरूले उमेर पुष्टि हुने प्रमाण वा आधार खोज्दैनन्।

यसले गर्दा बालबालिकाहरू अनलाइनका हानिकारक सामग्रीहरूमा पुग्ने गरेको र त्यसले असर गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भएको पाइन्छ। त्यसको नियमनका लागि विश्वका कतिपय देशमा कानुनहरू बन्ने क्रममा छन् भने सामाजिक सञ्जालहरूलाई पनि त्यसबारे निरन्तर सचेत गराउने काम भइरहेका विवरण छन्।

‘गम्भीर असर’

नेपालमा धेरै बालबालिकाले १३ वर्षभन्दा कम उमेरमै सामाजिक सञ्जालमा खाता खोलिएको पाइन्छ। ती खातामा उनीहरूले निरन्तर तस्बिरतथा भिडिओ राख्ने गरेको पाइन्छ।

स्वयं आमाबुवाले नै त्यसरी खाता खोलिदिने र उनीहरूका तस्बिरहरू राखिदिने गरेको पाइएको बालमनोविद् पुष्पा अधिकारी बताउँछिन्। “अहिले त बच्चालाई ‘पपुलर’ बनाउनका लागि पनि आमाबुवाले आफैँ अकाउन्ट खोलिदिने गर्नुहुन्छ। त्यो ‘पपुल्यारिटी’ हेर्ने कि बच्चाको स्वास्थ्य हेर्ने वा बालबालिकालाई भोलि कस्तो असर गर्छ त्यो हेर्ने?,” उनले भनिन्।

मोबाइल तथा अन्य उपकरणमा बालबालिकाको पहुँचलाई सीमित राख्ने प्रणालीहरू उपलब्ध भइसकेका कारण कति समय प्रयोग गर्न दिने र दिँदा कस्तो सामाग्री हेरिरहेका छन् त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछिन्।

“उनीहरूलाई मोबाइलमा कस्तो एप मात्रै हेर्न दिने र कति समयका लागि हेर्न दिने भन्ने ‘सेटिङ’ गर्न मिल्छ। त्यसमा अभिभावकले ध्यान दिनुपर्छ,” मनोविद् अधिकारीले भनिन्। नेपालमा केही ‘सेलेब्रटी’हरूले समेत आफ्ना उमेर नपुगेका सन्तानहरूको सामाजिक सञ्जालमा खाता खोलिदिएका छन्।

बालबालिका झर्किने, कोठामा एक्लै बस्ने, पढ्नमा ध्यान नदिने जस्ता समस्या लिएर अभिभावक आउने र त्यस्था अधिकांश बालबालिकाहरू विद्यालयबाट फर्किएपछि तीनचार घण्टा मोबाइलमा सामाजिक सञ्जालहरू हेर्ने गरेको पाइएको अनुभव उनी सुनाउँछिन्।

त्यसमा पनि किशोरीहरूले त आत्महत्यासमेत गरेका घटनाहरू आएको उनी बताउँछिन्। “अहिले अत्यधिक ‘साइबर क्राइम’का घटना देखिन्छ्न, जसमा खास गरी किशोरीहरूको सामाजिक खाता दुरुपयोग भएको अनि यसले गर्दा आत्महत्याहरू नै गरेको पनि भेटिएको छ।”

यस्तो अवस्थामा सुरुमा घरभित्रै आमाबुवा र अभिभावकहरू सचेत हुनुपर्ने र त्यसपछि यसको नियमनका लागि सरकारले पनि ध्यान दिन उनी सुझाउँछिन्।

यूकेमा सर्वेक्षणबाट के देखियो?

‘अफकम’ नामक यूकेको नियामक निकायले सामाजिक सञ्जालमा बालबालिकाहरूले वयस्क भएको बताइरहेको विषयलाई सम्बोधन नगरे त्यस्ता कम्पनीहरूमाथि कारबाही हुने चेतावनी दिएको छ। हालै सार्वजनिक भएको एउटा नयाँ सर्वेक्षणले ८ देखि १७ वर्षका करिब २२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालका एपहरूमा आफ्नो उमेर १८ वर्ष वा त्योभन्दा माथि राखेको अनुमान गरेको छ।

अफकमले बालबालिकाले सजिलै उमेर ढाँट्न सक्दा त्यसले उनीहरूको अनलाइनमा उपलब्ध हुने हानिकारक सामाग्रीमा पहुँच पुग्ने खतरा बढेको जनाएको छ। “बालबालिकाको उमेर अनलाइनमा थाहा पाउनका लागि सामाजिक सञ्जालहरूले धेरै गर्नुपर्ने छ,” बीबीसीसँग बोल्दै अफकमका ‘मार्केट इन्टेलिजन्स’का निर्देशक इयान मक्रेईले बीबीसीलाई भने।

‘ढाँट्न धेरै सजिलो’

केही प्रविधि कम्पनीहरूले बालबालिकाका लागि सामाजिक सञ्जाल सुरक्षित बनाउनका लागि उपायहरू घोषणा गरेका छन्। उदाहरणका लागि इन्स्टाग्रामले किशोरकिशोरीका लागि “टीन अकाउन्ट” ल्याउन लागेको छ।

ग्लास्गोस्थित रोशल अक्याडमीमा किशोरकिशोरीको एउटा समूहसँग बीबीसीले कुरा गर्दा उनीहरू सबैले सामाजिक सञ्जालमा आफूहरूले वयस्क भनेर उमेर राखेको बताए।

“आफ्नो उमेर ढाँट्न एकदमै सजिलो छ,” १५ वर्षे एक किशोरीले भनिन्। “मैले आफू जन्मिएको दिन र महिना ठ्याक्कै त्यही राखेँ, तर जब वर्ष लेख्ने बेला आयो, अनि मैले ‘कर्सर’ घुमाउँदै १० वर्षमाथि उमेर राखेँ,” उनले भनिन्। “त्यहाँ केही कुरा पुष्टि गर्नुपर्दैन। परिचयपत्रको माग पनि गरिँदैन र त्यहाँ केही पनि सोधिँदैन,” अर्की किशोरीले भनिन्।

नयाँ इमेल ठेगाना बनाएर थुप्रै सामाजिक सञ्जालमा खाता खोल्दा त्यहाँ केही पनि माग गरिएन। अठार वर्षभन्दा माथि उमेर राख्नेबित्तिकै प्रमाण नमागी दर्ता गरिन्छ। अफकमले यसलाई अबका महिनाहरूमा परिवर्तन गर्नुपर्ने जनाएको छ। “बालबालिकाको उमेरबारे स्वघोषणा गर्नु स्पष्ट रूपमा अपर्याप्त छ,” मक्रेईले भने।

उमेरको निश्चितता पुष्टि गर्न दबाव

अनलाइन उपलब्ध हुने हानिकारक सामग्रीहरूमा बालबालिकाको पहुँच हुँदा त्यसले केही किशोरकिशोरीहरूको मृत्युसमेत भएका घटनाबारे गहिरो चिन्ता व्यक्त भएका छन्। यसै कारण यूकेमा यसअघिको सरकारले अनलाइन सुरक्षा ऐन (ओएसए) पारित गरेको छ। त्यसअनुसार सन् २०२५ को जुलाई महिनाबाट सामाजिक सञ्जालहरूले अफकमले भनेको “उमेर निश्चित गर्ने अतिप्रभावकारी संयन्त्र” लागु गर्नु पर्नेछ।

यूकेमा बालबालिका र किशोरकिशोरीका लागि बनेका चर्चित केही सामाजिक सञ्जालहरूसँग उनीहरूको प्रतिक्रिया लिन बीबीसीले प्रयास गरेको थियो। “कम उमेरको भन्ने शङ्क लागेपछि हामी दैनिक हजारौँ त्यसता खाता हटाउँछौँ,” एउटा विज्ञप्तिमा टिकटकले भनेको छ।

“कसरी ‘मशीन लर्निङ टेक्नोलोजी’ले यी प्रयासहरूलाई सुधार गर्न सक्छ र किशोरकिशोरी तथा बालबालिकाको सुरक्षा र सम्मानको अधिकारका लागि उमेरको आश्वासनका प्रत्याभूतिका लागि काम गर्न सकिन्छ भनेर हामीले हेरिरहेका छौँ,” त्यसमा भनिएको छ।

ह्वाट्स्याप, इन्स्टाग्राम र फेसबुकका माउ कम्पनी मेटा र स्न्याप्च्याटले भने यसबारे बताउन चाहेनन्। हालसालै अस्ट्रेलियाको संसद्ले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। बिबिसीबाट साभार

प्रतिक्रिया दिनुहोस्