Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
समाचार

देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न

११ बैशाख २०८३, शुक्रबार २१:२६

काठमाडौं। हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई सरकारले आकस्मिक रूपमा फिर्ता बोलाएपछि उनको नियुक्ति, कार्यशैली र निर्णय प्रक्रियाबारे पुनः चर्चा सुरु भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुने गरी फिर्ता बोलाउने निर्णय गरेको हो।

डा. लेखकको छोटो कार्यकालमै भएको फिर्तालाई सामान्य प्रशासनिक प्रक्रिया भन्दा बढी राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनको नियुक्तिदेखि नै पहुँच, पारिवारिक सम्बन्ध र सत्तासँग निकट सिफारिसका आधारमा भएको भन्ने चर्चा चल्दै आएको थियो।

स्रोतका अनुसार उनी पूर्वगृहमन्त्री रमेश लेखक निकट व्यक्ति रहेको तथा नियुक्तिमा आरजु राणा देउवा र शेरबहादुर देउवा पक्षको प्रभाव रहेको दाबी पनि गरिँदै आएको छ।

यता, पछिल्ला दिनमा शेरबहादुर देउवा र आरजु राणा देउवा हङकङ पुगेको चर्चा चलेपछि कूटनीतिक नियोगहरू राजनीतिक पहुँच विस्तारको माध्यम बनेका हुन् कि भन्ने प्रश्नसमेत उठेको छ। सरकारी पद, पारिवारिक प्रभाव र विदेशस्थित नेपाली संरचनाबीचको सम्बन्धबारे चासो बढेको देखिन्छ।

हङकङमा तत्कालीन प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका भाइ योगेन्द्र देउवा लामो समयदेखि सक्रिय रहेको र देउवा परिवार नजिकको समन्वयकर्ताका रूपमा भूमिका खेलेको चर्चा त्यहाँको नेपाली समुदायमा सुनिँदै आएको छ।

स्थानीय व्यवसायीका अनुसार दूतावाससँगको पहुँच, भेटघाट र समन्वयमा उनको प्रभाव अस्वाभाविक रूपमा बढेको गुनासो पनि पटक–पटक उठेको थियो।

हङकङमा रहेका केही नेपाली व्यवसायीहरूले डा. लेखकले सीमित समूह, कांग्रेस निकट व्यवसायी र पहुँचवालालाई मात्र प्राथमिकता दिएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा दूतावास सबै नेपालीका लागि नभई केही व्यक्तिको प्रभावमा सञ्चालन भएको जस्तो देखिएको थियो।

डा. लेखक २०८१ चैतमा हङकङका लागि महावाणिज्यदूत नियुक्त भएका थिए। त्यसअघि ओली नेतृत्वको सरकारले २०८१ साउनमा प्रशासन सेवाका चार सहसचिवलाई परराष्ट्र मन्त्रालय पठाएको थियो, जसमा भरत खनाल, लक्ष्मीप्रसाद निरौला, विन्देश्वर लेखक र झक्कप्रसाद आचार्य रहेका थिए।

सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेसँगै अब हङकङका लागि नयाँ महावाणिज्यदूत को हुने भन्ने चासो बढेको छ। व्यवसायी समुदायको स्पष्ट माग भने एउटै छ—कुनै पार्टी वा परिवारको होइन, सबै नेपालीको प्रतिनिधित्व गर्ने निष्पक्ष, सक्षम र सेवामुखी व्यक्ति पठाइनु पर्छ।

प्रतिक्रिया दिनुहोस्