Trending
डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |    
समाचार

साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक

१ पुष २०८१, सोमबार ०१:५९

काठमाडौं। साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ ।

काठमाडौं उपत्यकाको केही पुस्ता अघिको परिवेशमा आधारित यो उपन्यासले काँठ क्षेत्रको त्यतिबेलाको सङ्घर्ष र कथा व्यथालाई सजीव रूपमा प्रस्तुत गरेको छ ।

यसअघि नै करिब एक दर्जन पुस्तकहरू र त्यत्तिकै संख्यामा गीतहरू सार्वजनिक गरिसकेका उपन्यासकार खनालले बाल्यकालमा सुनेका अनौठा र रहस्यमय कहानीहरूलाई उपन्यासमा विभिन्न पात्रहरूका कथा, उप–कथामार्फत् अभिव्यक्त गरेका छन् ।

उखाने काका, हर्षबहादुर मनकली दिदी, ज्योतिष बा, दिलमाया, द्वार्नी आमा, अछामे कान्छोजस्ता पात्रहरूका सम्वाद र चरित्र चित्रणमार्फत् आजभन्दा करिब सय वर्षअघि काँठको अवस्था के थियो भन्ने यथार्थलाई उपन्यासमा दुरुस्तै उतारिएको छ ।

त्यतिबेला काँठ क्षेत्रमा घाँस दाउरा गर्दाको दुःख, पीठो पिन्न रात बस्दै घट्ट जानुपर्ने बाध्यता र खेतीपाती गर्न जाँदा राति राति वा दिउँसै भूतले तर्साएका कहानीहरूको उपन्यासमा सजीव चित्रण छ ।

३६४ पृष्ठको यो उपन्यासमा काँठ क्षेत्रको तत्कालीन जीवनचर्यालाई उपन्यासकारले टपक्कै टिपेर जस्ताको त्यस्तै पस्किएका छन् । ढिकी, जाँतो, फलैचा, पिँढी, गुन्द्री, मान्द्रो, उड्गल, लुसी, धुन्चे, खुर्पेटो जस्ता काँठे पहिचानहरू अहिले लुप्तप्रायः भइसकेको परिवेशमा नयाँ पुस्ताका लागि यो उपन्यास एउटा नयाँ विषयवस्तुका रूपमा आएको छ ।

“हाम्रा पुर्खाहरूको जीवनकथा र उनीहरूका संघर्षबारे अहिलेको पुस्ता पूरै अनविज्ञ नहोस् भन्ने हेतुले मैले यो उपन्यास तयार पारेको हुँ,” उपन्यासकार खनालको दावी छ, “त्यसैले यो कृति विद्यालय तहका विद्यार्थीका लागि पनि एउटा उपयोगी पाठ्यसामाग्री हुने मैले ठानेको छु ।” इटर्नल पब्लिकेशन प्रा.लि.ले प्रकाशन गरेको यो किताबको मूल्य ५५० रुपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्