Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सरकारी सेवा तथा बैंकिङ सुविधाका लागि आफ्नै नाममा सिम आवश्यक : नेपाल टेलिकम

१५ बैशाख २०८२, सोमबार १०:४७

काठमाडौं। नेपाल टेलिकमले सेवाग्राहीहरूलाई आफ्नो व्यक्तिगत पहिचान र डेटा सुरक्षाका लागि आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न विशेष आग्रह गरेको छ।

डिजिटल युगमा सिमकार्ड व्यक्तिको पहिचानसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले सावधानीपूर्वक आफ्नै नाममा सिम दर्ता गराई प्रयोग गर्न आवश्यक भएको टेलिकमले जनाएको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नै नाममा दर्ता नभएमा भविष्यमा सेवा लिन समस्या आउन सक्ने र व्यक्तिगत डेटा सुरक्षामा पनि जोखिम पैदा हुन सक्ने चेतावनी दिएको छ। सरकारी सेवा तथा बैंकिङ सुविधा जस्ता महत्वपूर्ण सेवाहरू प्राप्त गर्न सिमकार्ड आफ्नो नाममा दर्ता हुनु अब अनिवार्य शर्त भएको बताइएको छ।

राष्ट्रिय परिचयपत्र बनाउने, बैंक खाता खोल्ने तथा सञ्चालन गर्ने, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने, नागरिक एपमा दर्ता हुने, सरकारी सेवामा प्रयोग हुने एकपटक प्रयोग गरिने पासवर्ड (OTP) प्राप्त गर्न समेत आफ्नै नाममा दर्ता भएको सिम आवश्यक हुन्छ। त्यसैगरी, अनलाइन फाराम भर्ने, पासपोर्ट बनाउने र नागरिकताको सम्पर्क नम्बरका लागि पनि आफ्नो नाममा सिम दर्ता हुनु अनिवार्य गरिएको छ।

सेवाग्राहीहरूले आफ्नो सिम कुन नाममा दर्ता भएको छ भनेर सजिलै थाहा पाउन नेपाल टेलिकमले *922# डायल गर्न सकिने सुविधा उपलब्ध गराएको छ।

यदि प्रयोगमा रहेको सिम अर्काको नाममा दर्ता भएको पाइएमा, सेवाग्राहीले आवश्यक कागजातसहित नजिकको नेपाल टेलिकम सेवा केन्द्रमा गई आफ्नो नाममा सिम ट्रान्सफर गराउन वा नयाँ सिम लिन सक्ने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले सेवाग्राहीलाई डिजिटल सुरक्षामा उच्च प्राथमिकता दिन र सरकारी तथा वित्तीय सेवा पहुँचमा सहजता ल्याउन यस प्रकारको पहल अघि सारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्