Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन काउन्सिलको पहल

१७ बैशाख २०८२, बुधबार १०:२१

काठमाडौं। यही जेठ २ गतेदेखि ४ गतेसम्म हुन लागेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल लिएको छ ।

सगरमाथा संवादलाई अन्तराष्ट्रिय स्तरमा समेत चासोको विषय बनाउन सञ्चार माध्यमको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्नेबारे बुधबार काउन्सिलले सम्बद्ध पत्रकारसँग सुझाव लिएको हो ।

विश्वमा नै जलवायु परिवर्तनबाट परेको प्रभाव असर कारण र मानवजातिको भूमिकाबारे नेपालले अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले सम्प्रेषण गर्ने विषयवस्तु प्रभावकारी हुनसके नेपालको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

काउन्सिल सभाहलमा भएको जलवायु परिवर्तन सगरमाथा संवाद र मिडियाको भूमिका विषयक कार्यक्रममा अध्यक्ष बस्नेतले वातावरण तथा जलवायुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुबाट सुझाव सङ्कलन गरी सरकारलाई सगरमाथा संवाद कार्यक्रम विश्वव्यापी बनाउन चाल्नुपर्ने कदमबारे रणनैतिक सुझाव दिइने बताउनुभयो । “जलवायु परिवर्तनका विषयमा सरकार, सञ्चार माध्यम र पत्रकारलाई एक ठाउँमा राखेर काम गर्न काउन्सिलले पुलको काम गर्छ” उहाँले भन्नुभयो, “नेपालका हिमालयदेखि समुन्द्री सतहसम्मका समस्या नेपालका मात्र नभइ विश्वकै हुन् यी विषय सगरमाथा स‌ंवादमा उठ्नुपर्छ” ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ पत्रकार कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुवेदीले नेपाली सञ्चार माध्यमले घटनाप्रधान विषयवस्तु प्रधान जानकारी आम मानिससमक्ष पुर्‍याउन सक्नुपर्ने बताउनुभयो । सरकारले अन्तराष्ट्रिय सञ्चार माध्यम र पत्रकारलाई समेत समेटेर सगरमाथा संवादको विषयलाई अन्तराष्ट्रिय स्तरसम्म प्रभावकारी रुपमा लैजान सक्ने सुझाव उहाँहरुको थियो ।

पत्रकार कमलदेव भट्टराईले सगरमाथा संवाद सरकारको मात्र विषय नभइ यो समग्र राज्यको नै विषय भएकाले यसमा राज्यका सबै संयन्त्र समेटिनुपर्ने बताउनुभयो । यस्तै  पत्रकार रमेश भुसालले जलवायु परिवर्तनलाई वातावरणीय विषयमात्र नभइ आर्थिक राजनीतिक विषयका रुपमा समेत सञ्चार माध्यमले बुझाउन सक्नुपर्ने बताउनुभयो । यस्तै पत्रकार श्रीराम सुवेदीले सगरमाथा संवादलाई राष्ट्रिय फोरमका रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

पत्रकार सागर पण्डित, विजय पौडेल, सविन शर्मा, बालकृष्ण प्रसाद, चाँदनी हमाल, सुवास दर्नाल, टिका बन्धन, विकास रौनियार लगायतले नेपाली मिडिया र अन्तर्राष्ट्रिय मिडियाका नेपाल प्रतिनिधिलाई समेट्नेसम्बन्धमा धारणा राख्नुभएको थियो ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कार्यक्रममा उठेका विषय र आएका सुझावलाई तत्काल सगरमाथा संवाद सचिवालयमा राखी अगाडि बढिने बताउनुभयो ।

सचिव मिश्रले सगरमाथा संवाद नेपाललाई विश्व मानचित्रमा चिनाउने अवसर भएको भन्दै यससम्बन्धी विषयहरु श्रृङ्खलाबद्धरुपमा सम्प्रेषण गरिदिन पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।

कार्यक्रम प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्