Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द

२६ असार २०८२, बिहीबार १२:०३

काठमाडौं- युट्युबमार्फत सजिलै पैसा कमाउने समय अब टुंगिन लागेको छ । आउँदो जुलाई १५ देखि लागू हुने युट्युबको नयाँ मोनिटाइजेशन नीतिअनुसार, दोहोरिने र मौलिकता नभएका सामग्रीले अब आम्दानी गर्न पाउने छैनन् ।

युट्युबले घोषणा गरेको नीति परिवर्तनले अबदेखि मौलिक, सिर्जनात्मक र जानकारीमूलक भिडियोहरूलाई मात्रै प्राथमिकता दिनेछ । पुनःप्रयोग गरिएको वा अन्य स्रोतबाट लिइएको सामग्रीमा पर्याप्त परिवर्तन नगरेसम्म ती भिडियोबाट कमाइ गर्न पाउने छैनन् ।

गुणस्तरमै अब ध्यान
कम्पनीले अब भिडियोको भिजिट संख्याभन्दा पनि सामग्रीको गुणस्तरमा ध्यान केन्द्रित गर्ने जनाएको छ । जानकारी दिने, नयाँ ज्ञान प्रदान गर्ने वा वास्तविक मनोरञ्जन दिने भिडियोहरूलाई मात्र आम्दानीयोग्य ठहर गरिनेछ ।

एआईले बनाएका भिडियो अब जाँचको घेरामा
पछिल्लो समय युट्युबमा एआई प्रयोग गरेर बनाइएका भिडियोहरूको बाढी आएको थियो । अब यस्ता भिडियोहरू पनि कडाइको दायरामा पर्नेछन् । यद्यपि, कम्पनीले कुन खालका एआई सामग्री मोनिटाइजेसनका लागि अयोग्य ठहर्छ भन्ने विस्तृत जानकारी भने दिएको छैन ।

तर युट्युबले संशोधित दिशानिर्देशमा एआई सामग्रीसमेत समावेश गरिने स्पष्ट संकेत गरेको छ ।

सट्सको प्रभाव: समान सामग्रीको बाढी
युट्युबले सन् २०२०–२१ मा ‘सट्स’ नामक छोटो भिडियो सुविधा सुरु गरेसँगै, प्ल्याटफर्ममा समान शैलीका र दोहोरिने सामग्रीहरू अत्यधिक बढ्न थाले । टिकटकको प्रतिस्पर्धामा ल्याइएको यो सेवा लोकप्रिय भए पनि, अहिले युट्युबले आफ्नो मौलिक पहिचान जोगाउन सट्सजस्ता दोहोरिने सामग्रीलाई पनि कडाइका साथ नियाल्न थालेको हो ।

परिवर्तनको उद्देश्य
युट्युबले आफ्नो आधिकारिक सपोर्ट पेजमार्फत नयाँ नीतिका बारेमा जानकारी दिएको छ । कम्पनीका अनुसार यो परिवर्तन प्रयोगकर्तालाई विविध, गुणस्तरीय र मौलिक सामग्री दिने लक्ष्यसहित गरिएको हो ।

यसबाट सामग्री उत्पादकहरूलाई सृजनात्मक र वास्तविक सामग्री निर्माणतर्फ प्रेरणा मिल्ने युट्युबको अपेक्षा छ । यद्यपि, नीति लागू भएपछि कुन खालका सामग्रीहरू प्रत्यक्ष असरमा पर्छन् भन्ने बारे थप जानकारी आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्