Trending
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |    
विज्ञान र प्रविधि

जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द

२६ असार २०८२, बिहीबार १२:०३

काठमाडौं- युट्युबमार्फत सजिलै पैसा कमाउने समय अब टुंगिन लागेको छ । आउँदो जुलाई १५ देखि लागू हुने युट्युबको नयाँ मोनिटाइजेशन नीतिअनुसार, दोहोरिने र मौलिकता नभएका सामग्रीले अब आम्दानी गर्न पाउने छैनन् ।

युट्युबले घोषणा गरेको नीति परिवर्तनले अबदेखि मौलिक, सिर्जनात्मक र जानकारीमूलक भिडियोहरूलाई मात्रै प्राथमिकता दिनेछ । पुनःप्रयोग गरिएको वा अन्य स्रोतबाट लिइएको सामग्रीमा पर्याप्त परिवर्तन नगरेसम्म ती भिडियोबाट कमाइ गर्न पाउने छैनन् ।

गुणस्तरमै अब ध्यान
कम्पनीले अब भिडियोको भिजिट संख्याभन्दा पनि सामग्रीको गुणस्तरमा ध्यान केन्द्रित गर्ने जनाएको छ । जानकारी दिने, नयाँ ज्ञान प्रदान गर्ने वा वास्तविक मनोरञ्जन दिने भिडियोहरूलाई मात्र आम्दानीयोग्य ठहर गरिनेछ ।

एआईले बनाएका भिडियो अब जाँचको घेरामा
पछिल्लो समय युट्युबमा एआई प्रयोग गरेर बनाइएका भिडियोहरूको बाढी आएको थियो । अब यस्ता भिडियोहरू पनि कडाइको दायरामा पर्नेछन् । यद्यपि, कम्पनीले कुन खालका एआई सामग्री मोनिटाइजेसनका लागि अयोग्य ठहर्छ भन्ने विस्तृत जानकारी भने दिएको छैन ।

तर युट्युबले संशोधित दिशानिर्देशमा एआई सामग्रीसमेत समावेश गरिने स्पष्ट संकेत गरेको छ ।

सट्सको प्रभाव: समान सामग्रीको बाढी
युट्युबले सन् २०२०–२१ मा ‘सट्स’ नामक छोटो भिडियो सुविधा सुरु गरेसँगै, प्ल्याटफर्ममा समान शैलीका र दोहोरिने सामग्रीहरू अत्यधिक बढ्न थाले । टिकटकको प्रतिस्पर्धामा ल्याइएको यो सेवा लोकप्रिय भए पनि, अहिले युट्युबले आफ्नो मौलिक पहिचान जोगाउन सट्सजस्ता दोहोरिने सामग्रीलाई पनि कडाइका साथ नियाल्न थालेको हो ।

परिवर्तनको उद्देश्य
युट्युबले आफ्नो आधिकारिक सपोर्ट पेजमार्फत नयाँ नीतिका बारेमा जानकारी दिएको छ । कम्पनीका अनुसार यो परिवर्तन प्रयोगकर्तालाई विविध, गुणस्तरीय र मौलिक सामग्री दिने लक्ष्यसहित गरिएको हो ।

यसबाट सामग्री उत्पादकहरूलाई सृजनात्मक र वास्तविक सामग्री निर्माणतर्फ प्रेरणा मिल्ने युट्युबको अपेक्षा छ । यद्यपि, नीति लागू भएपछि कुन खालका सामग्रीहरू प्रत्यक्ष असरमा पर्छन् भन्ने बारे थप जानकारी आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्