Trending
उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |    
समाचार

ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा

८ कार्तिक २०८२, शुक्रबार १६:४९

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै व्यापार वार्ता तुरुन्तै समाप्त गर्ने घोषणा गरेका छन्।

उनले क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नाम र वक्तव्यको दुरुपयोग गर्दै करविरुद्धको विज्ञापनमा गलत उद्धरण प्रस्तुत गरेको आरोप लगाए।

“उनीहरूको गम्भीर र अनुचित व्यवहारका कारण क्यानाडासँगका सबै व्यापारिक नीतिहरू अहिलेबाट प्रतिबन्धित छन्”,  राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “रोनाल्ड रेगन फाउन्डेसनले क्यानाडाले छलपूर्वक एउटा विज्ञापनमा नक्कली सामग्री प्रयोग गरेको भन्नेबारे पुष्टि गरेको छ, जसमा रेगनले करको विरोधमा भनिएको गलत अभिव्यक्ति देखाइएको छ।”

यो घटनाले उत्तर अमेरिकी छिमेकी यी दुई राष्ट्रबीचको सम्बन्धमा नयाँ असामान्य मोड ल्याएको छ। यो घोषणा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुई हप्ताअघि ह्वाइट हाउस पुगेर अमेरिकी भन्सार शुल्कमा सहजता खोज्दै राष्ट्रपति ट्रम्पसँग भेट गरेको केही समयपछि आएको हो। त्यतिबेला ट्रम्पले प्रधानमन्त्री कार्नीलाई ‘विश्व–स्तरीय नेता’ भन्दै प्रशंसा गर्नुभएको र दुवैबीचको छलफलबाट ‘सन्तुष्ट’ भएको बताए।

तर सो भेटमा ट्रम्पले करमा कुनै छुट दिने वा नीतिगत परिवर्तनको प्रस्ताव गरेका थिएन। यसबीच, रोनाल्ड रेगन फाउन्डेसनले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै क्यानाडाको ओन्टारियो प्रान्त सरकारले सन् १९८७ अप्रिलमा रेगनले राष्ट्रलाई दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनको ‘छनोट गरिएको अडियो र भिडियो अंश’ प्रयोग गरेको पुष्टि गरेको छ। फाउन्डेसनले उक्त विज्ञापन ‘भ्रामक’ भएको भन्दै यसको कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ।

ट्रम्पले उक्त विज्ञापन ‘अमेरिकी सर्वोच्च अदालतमा आफ्नो व्यापार शुल्कसम्बन्धी निर्णयमा प्रभाव पार्ने उद्देश्यले बनाइएको’ दाबी गरेका छन्।

संयुक्त राज्य अमेरिका र क्यानाडाले अहिले पनि विद्यमान उत्तर अमेरिकी व्यापार सम्झौता (युएसएमसिए) अन्तर्गत व्यापार गर्दै आएका छन्, जसअन्तर्गत दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार शुल्कमुक्त छ।

तर ट्रम्प प्रशासनद्वारा स्टिल, एल्युमिनियम र अटो उद्योगमा लगाइएका विश्वव्यापी भन्सार शुल्कहरूले क्यानाडाको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ। यसका कारण हजारौँ रोजगारी गुम्न पुगेको र उद्योगहरू दबाबमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्