Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

२९ असार २०८२, आईतवार १७:४९

कालीकोट। बालस्वास्थ्य सुरक्षामा ऐतिहासिक सफलता हात पार्दै कालीकोट जिल्ला शनिबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’युक्त जिल्ला घोषित भएको छ।

जिल्लाका नौवटै स्थानीय तहले आफ्ना सम्पूर्ण बालबालिकालाई आवश्यक १३ प्रकारका खोप उपलब्ध गराइसकेको पुष्टि गरेपछि सदरमुकाम मान्ममा औपचारिक कार्यक्रमका बीच यो घोषणा गरिएको हो।

स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मराज पोख्रेलका अनुसार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सञ्चालन गरिएको यो अभियानले स्वास्थ्यको क्षेत्रमा कालीकोटलाई उदाहरणीय बनाएको छ।

डा. पोख्रेलले बताएअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाहरूको नेतृत्वमा वैशाखदेखि व्यापक खोप खोज अभियान सञ्चालन गरिएको थियो। गाउँ–बस्तीमा खटिएका स्वास्थ्यकर्मीहरूले छुटेका बालबालिकाको पहिचान गरी खोप उपलब्ध गराएका थिए। १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई दादुरा, पोलियो, टाइफाइड, पेन्टा, जेई, रोटा, एफआईपीभी लगायत १३ प्रकारका खोप दिइसकेको पुष्टिपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषित गरिएको हो।

जिल्लाका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्र पालिकाहरूलाई जेठदेखि असार १५ भित्र खोप सुनिश्चित पालिकाको रूपमा घोषणा गरिसकिएको थियो। त्यसपछि असार २७ मा बसेको जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार असार २८ गते पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा कालीकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्यकर्मी रविन्द्र सेजुवालले बताएअनुसार १५ महिनामुनिका ३,०११ बालबालिकालाई घरघरमै सर्भेक्षण गरेर राष्ट्रिय खोप तालिकाअनुसार खोप दिइएको हो। १६ महिनादेखि ५९ महिनासम्मका ५,८४४ बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्