Trending
९ वर्षपछि कालिमाटी सडक कालोपत्रे सम्पन्न, सुर्खेत–दाङ आवागमन सहज     |     बेतन कर्णाली आयोजनालाई निर्माण स्वीकृति     |     प्रभु साहको प्रश्न, ‘सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’     |     कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित     |     करोडौंको संरचना अलपत्र: जुम्लामा संघीय खानेपानी कार्यालय हटाउने निर्णयले स्थानीय आक्रोशित     |     सङ्घीय तथा प्रदेश कार्यालय नसार्न जुम्लावासीको अनुरोध     |     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै     |     प्रतिनिधिसभाको बैठक बस्दै     |     आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

२९ असार २०८२, आईतवार १७:४९

कालीकोट। बालस्वास्थ्य सुरक्षामा ऐतिहासिक सफलता हात पार्दै कालीकोट जिल्ला शनिबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’युक्त जिल्ला घोषित भएको छ।

जिल्लाका नौवटै स्थानीय तहले आफ्ना सम्पूर्ण बालबालिकालाई आवश्यक १३ प्रकारका खोप उपलब्ध गराइसकेको पुष्टि गरेपछि सदरमुकाम मान्ममा औपचारिक कार्यक्रमका बीच यो घोषणा गरिएको हो।

स्वास्थ्य सेवा व्यवस्थापक डा. भीष्मराज पोख्रेलका अनुसार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सञ्चालन गरिएको यो अभियानले स्वास्थ्यको क्षेत्रमा कालीकोटलाई उदाहरणीय बनाएको छ।

डा. पोख्रेलले बताएअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाहरूको नेतृत्वमा वैशाखदेखि व्यापक खोप खोज अभियान सञ्चालन गरिएको थियो। गाउँ–बस्तीमा खटिएका स्वास्थ्यकर्मीहरूले छुटेका बालबालिकाको पहिचान गरी खोप उपलब्ध गराएका थिए। १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई दादुरा, पोलियो, टाइफाइड, पेन्टा, जेई, रोटा, एफआईपीभी लगायत १३ प्रकारका खोप दिइसकेको पुष्टिपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषित गरिएको हो।

जिल्लाका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्र पालिकाहरूलाई जेठदेखि असार १५ भित्र खोप सुनिश्चित पालिकाको रूपमा घोषणा गरिसकिएको थियो। त्यसपछि असार २७ मा बसेको जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार असार २८ गते पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा कालीकोटलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्यकर्मी रविन्द्र सेजुवालले बताएअनुसार १५ महिनामुनिका ३,०११ बालबालिकालाई घरघरमै सर्भेक्षण गरेर राष्ट्रिय खोप तालिकाअनुसार खोप दिइएको हो। १६ महिनादेखि ५९ महिनासम्मका ५,८४४ बालबालिकाले पूर्ण खोप प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्