Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अब ‘क्यूआर कोड’बाट पचाल झरनाको सम्पूर्ण जानकारी मोबाइलमै

९ श्रावण २०८२, बिहीबार १७:४१

कालीकोट। कालीकोट जिल्लाको प्रमुख पर्यटकीय आकर्षण पचाल झरनालाई अब डिजिटल प्रविधिबाट चिनाउन थालिएको छ। नेपाल सरकारले यस झरनालाई पर्यटकीय गन्तव्यको रूपमा सूचीमा राखेसँगै, नेपाल पर्यटन बोर्डले क्यूआर कोडमार्फत सूचना उपलब्ध गराउने व्यवस्था गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्ष ०८२/८३ का लागि सूचीकृत १०० पर्यटकीय गन्तव्यमध्ये पचाल झरनालाई ६४औं स्थानमा राखेको छ। यसपछि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा झरनाको प्रचारप्रसारका लागि सूचना प्रविधिमैत्री क्यूआर कोड निर्माण गरिएको हो।

गाउँपालिकालाई हस्तान्तरण गरिएको उक्त क्यूआर कोड अब झरनास्थल नजिकै राखिनेछ, जसबाट आन्तरिक तथा विदेशी पर्यटकहरूले झरनाको उचाइ, पहुँच मार्ग, होमस्टे र अन्य जानकारी मोबाइलमार्फत प्राप्त गर्न सक्नेछन्।

पचालझरना गाउँपालिका–४ र ७ मा अवस्थित झरना ३८१ मिटर अग्लो रहेको जनाइएको छ। प्राविधिक नाप अनुसार बीचमा थोरै भागमा ठोक्किएको क्षेत्र पनि समावेश गर्दा यसको कुल लम्बाइ ४१५ मिटरसम्म पुग्छ। यस झरनालाई नेपालकै सबैभन्दा अग्लो झरना मानिएको छ, जहाँ यसअघि तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर थियो।

पचाल झरनामा पुग्न कर्णाली करिडोरको लाफागाडबाट करिब एक घण्टा गाडी यात्रा र त्यसपछि तीन घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ। झरनाको वरिपरि डाँफे, घोरल, कस्तुरी, बनेल र कालो भालुजस्ता वन्यजन्तु तथा चराचुरुंगीहरू पाइन्छन्।

पर्यटकहरूको बसोबासका लागि खार्दु गाउँमा पाँचवटा होमस्टे सञ्चालनमा छन्। साथै, झरनासम्म पुग्न रेलिङसहितको गोरेटो बाटो पनि निर्माण गरिएको छ।

गाउँपालिका उपाध्यक्ष अल्किना बमका अनुसार, झरनालाई व्यवस्थित गर्दै पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजनामा पर्यटन बोर्डको सहकार्य भइरहेको छ। उनले भनिन्, “अब पचाल झरनाको प्रचार डिजिटल ढंगबाट हुनेछ र पर्यटकहरूका लागि जानकारी लिन सहज हुनेछ।”

यो पहलले कालीकोटजस्तो दुर्गम क्षेत्रको पर्यटन विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्