Trending
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले     |     डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |    
Uncategorized

कर्णालीमा स्वास्थ्य परीक्षण अभियान सम्पन्न

२४ श्रावण २०८२, शुक्रबार १६:१२

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न १३ स्थानीय तहमा गत वर्ष सञ्चालन गरेको विशेष स्वास्थ्य अभियानअन्तर्गत २२ हजार ७५१ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। यस परीक्षणमा हजारौँमा गम्भीर नसर्ने रोगको जोखिम देखिएको छ।

स्वास्थ्य परीक्षणका क्रममा २ हजार ५३६ जनामा पहिलोपटक उच्च रक्तचाप, १ हजार ४२८ जनामा मधुमेह, र ७९४ जनामा मिर्गौलासम्बन्धी प्रारम्भिक समस्या भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, यो अभियान सामाजिक विकास मन्त्रालय, जिल्ला जनस्वास्थ्य तथा स्थानीय तहहरूको संयुक्त पहलमा सञ्चालन भएको थियो। स्वास्थ्यकर्मीहरूले नागरिकको घरदैलोमै गएर परीक्षण र परामर्श सेवा उपलब्ध गराएका थिए।

परीक्षण भएका स्थानीय तहहरूमा हुम्लाको नाम्खा र खार्पुनाथ, मुगुको मुगुमकार्मारोङ, जुम्लाको पातारासी र कनकासुन्दरी, दैलेखको डुंगेश्वर र भगवती माई, सुर्खेतको गुर्भाकोट, सल्यानको कपुरकोट र कालिमाटी, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, र जाजरकोटको छेडागाड नगरपालिका र शिवालय गाउँपालिका समावेश छन्।

परीक्षणमा पहिचान भएका बिरामीहरूलाई नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा थप उपचार र नियमित परामर्शका लागि सिफारिस गरिएको छ। साथै, नसर्ने रोगहरूको रोकथामका लागि योग, ध्यानजस्ता कार्यक्रम जिल्ला सदरमुकामहरूमा पनि विस्तार गरिएको छ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, “शरीरलाई भित्री रुपमा कमजोर बनाउने ‘साइलेन्ट किलर’ भनिने रोगहरू समयमै पहिचान गरी उपचारको पहुँचमा ल्याउने र ठूला आर्थिक भारबाट बचाउने यो अभियानको मुख्य उद्देश्य हो।”

मन्त्री भण्डारीका अनुसार, आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै ७९ स्थानीय तहमा समन्वय गरी वडास्तरमा स्वास्थ्य परीक्षण नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको छ।

यो अभियानले कर्णाली प्रदेशमा बढ्दो स्वास्थ्य जोखिम समयमै पहिचान गर्न मद्दत गरेको र आगामी दिनमा अझ व्यापक र प्रभावकारी रूपमा विस्तार गर्ने तयारी भइरहेको भण्डारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्