काठमाडौं । ‘स्पार्कल प्रिजेन्ट्स अल्टिमा प्रोफेसनल मिस एन्ड मिसेस युनिभर्सल–सिजन ५ (२०२६)’ को ग्रान्ड फिनालेमा बिना लिम्बु र सरला सौर्य श्रेष्ठले मुख्य उपाधि जित्नुभएको छ।
भव्य समारोहबीच सम्पन्न प्रतियोगितामा लिम्बुले मिसेस प्लाटिनम विजेताको ताज पहिरिँदा सरला सौर्य श्रेष्ठले मिस प्लाटिनम विजेताको उपाधि आफ्नो नाममा पार्नुभएको हो।
मिसेस विधातर्फ रोजिना थापा मिसेस डायमन्ड विजेता, अनुसिया श्रेष्ठ मिसेस गोल्ड विजेता र पूजा बीके बस्नेत मिसेस सिल्भर विजेता घोषित हुनुभएको छ।
प्रतियोगितामा सीता पोखरेलले भने दोहोरो उपलब्धि हासिल गर्नुभएको छ। दर्शकको रोजाइमा पर्दै उहाँले पब्लिक च्वाइस विजेताको उपाधि जित्नुभएको हो। साथै, उहाँले मिसेस कन्फिडेन्स विजेताको उपाधिसमेत प्राप्त गर्नुभएको आयोजकले जनाएको छ।
नारी प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न क्षेत्रका व्यक्तित्व, निर्णायक, जुरी सदस्य, प्रायोजक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको सफलतामा निर्णायक सदस्य, प्रतिभा प्रस्तुतिको चरणका निर्णायक सदस्य, प्रायोजक, अल्टिमा प्रोफेसनल टिम तथा आधिकारिक नृत्य प्रशिक्षक रोजिन सरलगायतको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको समाचार तथा प्रचार–प्रसारमा सहयोग गर्ने सञ्चारकर्मीहरूप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ।
आयोजक स्पार्कल इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत नितु श्रेष्ठले ग्रान्ड फिनालेका सम्पूर्ण विजेतालाई बधाई दिँदै उनीहरूको आगामी यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।