झापा। छुनुमुनु थिएटर काठमाडौंको सहकार्य तथा सीईएस थिएटर क्लबको आयोजनामा प्रथम जिल्लास्तरीय ‘युवा कलाकार अभिनय प्रशिक्षण–२०२६’ बिर्तामोडमा सञ्चालन हुने भएको छ।
बिर्तामोडस्थित चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल (सीईएस) को ग्रेस अडिटोरियममा भदौ २७, २८ र २९ गते तीन दिनसम्म प्रशिक्षण सञ्चालन हुनेछ। प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयमा नाट्यकला अध्ययन गरिरहेका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भावना, हाउभाउ तथा मञ्चीय उपस्थितिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउँदै उनीहरूमा रहेको सिर्जनशीलता, कल्पनाशक्ति र आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गर्न लागिएको हो।
त्यसैगरी, उत्कृष्ट प्रतिभालाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चको यात्राका लागि तयार गर्ने लक्ष्यसमेत आयोजकले लिएको छ।
प्रशिक्षणको मुख्य सहजीकरण छुनुमुनु थिएटरका निर्देशक तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक राजन भुजेलले गर्नेछन्। तीनदिने कार्यक्रममा अभिनयका विभिन्न व्यावहारिक तथा सिर्जनात्मक अभ्यासमार्फत सहभागी विद्यार्थीको अभिनय क्षमता र मञ्चीय प्रस्तुति निखारिने आयोजकले जनाएको छ।
प्रशिक्षणको पहिलो दिन ‘विद्यालयमा अभिनय शिक्षा’ विषयमा विशेष छलफलसमेत आयोजना गरिनेछ। छलफलमा प्रशिक्षक राजन भुजेलसँगै झापाका वरिष्ठ नाट्य कलाकार टंक विकल्प, परिवर्तन थिएटर मेचीनगरकी प्रशिक्षक तथा निर्देशक कविता नेपाल र कदम थिएटर दमकका वरिष्ठ कलाकार सुभाषचन्द्र खरेल सहभागी हुनेछन्।
कवि, सञ्चारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक लिला अनमोलले छलफलको सहजीकरण गर्नेछिन्। छलफलमा विद्यालय तहमा रंगमञ्च तथा अभिनय शिक्षाको आवश्यकता, सम्भावना र चुनौतीका साथै बालबालिकाको व्यक्तित्व विकासमा अभिनय शिक्षाको भूमिकालगायत विषयमा विचार–विमर्श गरिनेछ।
तीनदिने प्रशिक्षणको संयोजन थिएटर प्रशिक्षक तथा लेखक–निर्देशक दिनेशराज शर्माले गर्नेछन्।
आयोजकका अनुसार यो कार्यक्रम अभिनय सिकाउने कार्यक्रम मात्र नभई जिल्लाका युवा प्रतिभालाई एउटै मञ्चमा ल्याएर उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र कलात्मक क्षमताको पहिचान तथा प्रोत्साहन गर्ने अभियानका रूपमा अघि बढाइएको हो।