काठमाडौँ। अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।
२०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो ।
सडक खण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीलाई पटक-पटक काम अघि बढाउन ताकेता गर्दा समेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो ।
कुल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको थियो । ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ ।
यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाहरूको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरूमा साँफे-मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी-कवाडी-बिच्छ्याँसैन सडक, मंगलसेन-सुवाखाँद-खेतगैरे-जुलिमारे-ढकारी सडक रहेका छन् ।