काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय सांसदको टोली चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सो टोली कात्तिक २९ गते चीन प्रस्थान गर्ने तयारी छ।
भ्रमण टोलीमा सहभागी हुने सांसदहरूको अन्तिम सूची भने अझै निश्चित भइसकेको छैन। महामन्त्री आचार्यले भ्रमणमा जान इच्छुक सांसदहरूको नाम संकलन गरिरहेका छन्।
हालसम्म महामन्त्री आचार्यसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बास्तोला, हरि ढकाल र सागर ढकालको नाम निश्चित भएको छ।
रास्वपाका एक सांसदका अनुसार भ्रमणका लागि ३० जनाभन्दा बढी सांसद आकांक्षी देखिएका छन्। सबै नाम भ्रमणको तीन दिनअघि मात्र टुंगो लाग्ने बताइएको छ।
१० दिन लामो उक्त भ्रमणका क्रममा टोलीले चीनका विभिन्न सहरको अवलोकन गर्ने र केही कार्यक्रममा सहभागी हुनेछ। रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले पार्टीलाई चीन भ्रमणको निम्तो आएको पुष्टि गरेका छन्। भ्रमणका दौरान हुने राजनीतिक भेटवार्ताबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।
यसअघि २०८१ असोज ५ गते रास्वपाका तत्कालीन उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा १४ सदस्यीय टोली चीन भ्रमणमा गएको थियो। तर, पार्टी सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने भन्दै सो टोली निर्धारित समयभन्दा अगाडि नै असोज १० गते स्वदेश फर्किएको थियो।
त्यसअघि भदौ महिनामा सभापति लामिछाने स्वयंको चीन भ्रमणको तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो।