काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो थाई गाँजासहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ।
मंगलबार बिहान लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले शंकास्पद गतिविधिमा संलग्न रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ४६ वर्षीया शबाना बानु यार महम्मद शेख र ३५ वर्षीया शरिफ अब्बास अन्सारी रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुबास बोहराका अनुसार उनीहरू थाईल्याण्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानमार्फत काठमाडौं आएका थिए।
बाटिक एयरको उडान नम्बर ओडी-१८२ बाट आएका उनीहरूमाथि शंका लागेपछि ब्यूरोको टोलीले चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो।
पक्राउ परेका दुवै महिलामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।