काठमाडौं। भारतको आन्ध्र प्रदेशमा उत्पन्न अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा आगामी तीन दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने जनाएको छ।
विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
ती प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको समेत आकलन गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले उल्लेख गरेको छ। यी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
भारतमा जमिनमा प्रवेश गरेको उक्त चक्रवात उत्तर-उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कमजोर हुने र बिहीबार बिहानसम्म डिप्रेसनमा परिणत हुने अनुमान गरिएको छ। यसको प्रभाव नेपालमा क्रमशः बढ्ने विभागले जनाएको छ।
मौसम प्रतिकूल हुने सम्भावनालाई मध्यनजर गर्दै विभागले कात्तिक १४ गतेसम्म धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकहरूलाई सो क्षेत्रमा नजान र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
साथै, वर्षाका कारण पहिरो जान सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र चिसो बढ्न सक्ने भन्दै पूर्वतयारी गर्न सम्बन्धित निकायलाई सचेत गराइएको छ।