काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिनु राजनीतिक अपराध र बेइमानी भएको दाबी गरेका छन्।
बुधबार नागरिक न्युजको संवाद कार्यक्रममा बोल्दै घिसिङले रास्वपा नेतृत्वले षड्यन्त्रपूर्वक सहमति लत्याएको आरोप लगाएका हुन्।
रास्वपा, जेनजी समूह र आफ्नो पार्टीबीच भएको एकता सहमति रास्वपाले विनाकारण तोडेको घिसिङले बताए। उनले भने, ‘हामी तीन जना बसेर एकताको सहमति गरेका थियौं।
सहमति तीन जना बसेर गरेपछि छलफल पनि सँगै बसेर हुनुपर्थ्यो। तर पछि डिपी अर्यालजीले मलाई फोन गरेर आजैदेखि एकता भङ्ग भयो भन्नुभयो। किन एकता गरियो र किन भङ्ग भयो, त्यसको जवाफ उहाँहरूले आजसम्म दिन सक्नुभएको छैन।’
आफूले ठूलो पद मागेका कारण एकता भङ्ग भएको भन्ने रास्वपाको दाबी झूटो भएको घिसिङको भनाइ छ। उनले थपे, ‘मैले ठूलो पद मागेर बाहिरिएको भन्ने प्रचार पूर्णतः झूटो हो। मैले त मलाई कुनै पद चाहिँदैन, साधारण सदस्य भएरै बस्न तयार छु भनेको थिएँ। हामीले त पार्टीको समानुपातिक उम्मेदवारको सूचीसमेत त्याग गरेर गएका थियौं। हामी बाहिरिनुपर्ने कुनै कारण नै थिएन। त्यसरी सहमति लत्याउनु राजनीतिक अपराध नै हो।’
अहिले रास्वपासँग मिसिने कुनै सम्भावना नरहेको बताउँदै घिसिङले आफ्नो पार्टी आफ्नै एजेन्डामा देशभर विस्तार भइरहेको जानकारी दिए। पार्टीले समानुपातिकतर्फ करिब २ लाख मत पाएको उल्लेख गर्दै उनले आगामी स्थानीय तह निर्वाचनमा रामेछापका आठवटै पालिका जित्ने गरी तयारी गरिरहेको बताए। उनले रास्वपाले संसद्मा बहुमत पाए पनि जनतासँग गरेका वाचा भुलेको र दलीय स्वार्थमा केन्द्रित भएको आरोप समेत लगाएका छन्।