Trending
आज पनि सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?     |     ‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’     |     शीर्ष स्थानमा उक्लियाे पीएसजी     |     साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै     |     भारतसँगको खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको यस्तो प्रतिक्रिया     |     अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |    
समाचार

पोषणविद्को सुझाव : दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ

२६ आश्विन २०८१, शनिबार ०४:१६

२६ असोज, काठमाडौँ।दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरूको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ ।

धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकार मात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दसैँमा टन्न खानैपर्छ ?

पोषणविद्हरू भन्नुहुन्छ, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरो कम भएका स्वास्थ्यकर परिकारले स्वास्थ्यलाई नगर्ने उनीहरूको भनाइ छ ।

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउँछन् । उनी भन्छन्, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो । पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ । घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरूको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरूको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेष गरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरूको भनाइ छ ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन । “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उनले भने, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउँछन् । उनी भन्छन्, “विशेष गरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ । त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ । मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्त्वहरू उत्पादन भइरहेका हुन्छन् । पोषक तत्त्व नष्ट भइरहको हुन्छ ।”

पोषणविद् खड्का अरू समयभन्दा दसैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिन्छन् । उनले भने, “थोरै तेलमा तारेको ठिकै हुन्छ । महत्त्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”

पोषणविद्हरू चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउँछन् । मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्