Trending
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको शुरूआत भएको छ : प्रधानमन्त्री ओली     |     रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक     |     पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ     |     सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता     |     सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ     |     काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति     |     सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह     |     नेतृत्वमा बसेकाहरूको कमजोरीका कारण जनता निराश भए : मुख्यमन्त्री आचार्य     |     वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती     |     सुक्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी     |    
विचार

नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?

२२ असार २०८१, शनिबार ०८:०५

मानवलाई सहज जीवनयापन गराउन, इच्छा र आवश्यकता पूरा गर्न, सुखी, शान्त, आत्मनिर्भर र समृद्ध जीवनयापनलगायतका लागि शिक्षा अपरिहार्य छ । प्राविधिक होस् या अप्राविधिक, शिक्षाले मानिसलाई सहज र एउटा श्रेणीको जीवन जिउने आधार प्रदान गरेको हुन्छ ।

त्यस्तै राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान्, मूल्य मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान्, नैतिकवान् एवम् जिम्मेवार नागरिक तयार गर्ने आधार पनि शिक्षा नै हो । विश्वका विकसित मुलुकमा मात्र होइन, नेपालमा पनि शिक्षालाई तह–तहमा वर्गीकरण गरिएको छ । जस्तो कि, प्राथमिक, आधारभूत, माध्यमिक र उच्च शिक्षा ।

विगतका तथ्यांक अध्ययन गर्ने हो भने विश्वविद्यालयहरूमा विद्यार्थीको चाप उच्च थियो, भर्नाका लागि तीव्र प्रतिस्पर्धा हुन्थ्यो । तर पछिल्लो समय भने अवस्था फेरिएको छ । खासगरी राजनीतिक तथा आर्थिक कारणले नेपालमै उच्च शिक्षा लिन विद्यार्थीहरूको विकर्षण बढेको देखिन्छ ।

उच्च शिक्षामा विद्यार्थीको विकर्षणले यस्तो देखाउँछ कि नेपालमा अब शिक्षा पढेर भविष्य बन्नेवाला छैन । नेपालमा करिअर छैन, भविष्य छैन, पढेर सकेपछि पनि बेरोजगार नै रहनुपर्छ । प्रतिस्पर्धा धेरै छ । उदाहरणका लागि स्नातकोत्तर सकेको विद्यार्थी खरिदार (एसएलसी उत्तीर्णले दिन पाउने) परीक्षा दिइरहेको हुन्छ । प्राविधिक पढेर सकेका जनशक्ति केही सीप नलागेर कोरियन भाषाको फर्म भर्न मात्र होइन, खाडी देश जानका लागि अन्तर्वार्तामा लाइन लागेको देखिन्छ ।

जीवनको अढाई दशक नेपालमा पढेर बिताएका लाखौं विद्यार्थीको भविष्य अन्योल छ । कैयौं बेरोजगार छन् । जसका कारण पछिल्लो समय कलेज भर्ना भएका विद्यार्थी स्नातक तहमा टिकेका छैनन् । १२ कक्षा उत्तीर्णमध्ये अधिकांश विद्यार्थीको रोजाइ विदेश बनेको छ । कक्षा एकमा भर्ना भएका विद्यार्थी संख्याबाट गणना गर्दा स्नातक तहको भर्ना दर लगभग १५ प्रतिशत छ ।

यस्तो अवस्था आउनुका पछाडि विविध कारण छन् । नेपालमा विद्यमान उच्च शिक्षा समय सान्दर्भिक छैन । समयअनुसार शिक्षामा परिवर्तन ल्याउन नसक्नु नेपाल र नेपाली विद्यार्थीका लागि निकै गम्भीर विषय हो । शिक्षा प्रणाली परम्परागत शिक्षण प्रणालीबाट अघि बढ्न सकेको छैन । शिक्षाको व्यावहारिक प्रयोग नहुँदा डिग्रीहोल्डरहरू बेरोजगार रहनुपर्ने बाध्यता छ ।

गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक छ । र त्यसका लागि उपलब्ध स्रोत, साधन बजेटको उच्च प्रतिफल आउने गरी परिचालन गर्नुपर्छ । त्यसका साथै, शिक्षा प्रणालीमा सुधार ल्याई विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

विद्यार्थी बाहिरिने समस्या तथा देशका लागि दक्ष जनशक्ति उत्पादन नहुनु या उत्पादनको अनुपात घट्दै जानु राज्यका लागि खतराको घन्टी बज्ने संकेत हो । यसका लागि तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाएर कार्यान्वयन गर्नुको कुनै विकल्प छैन ।

व्यावहारिक शिक्षाको खोजी र तत्काल कार्यान्वयन गर्ने, राजनीतिक प्रतिबद्धता र प्रशासनिक तत्परतालाई व्यवहारमा उतार्ने, प्रविधिको विकास गर्ने, शिक्षामा लगानी गर्ने, शिक्षणका आधुनिक प्रणाली तथा उपयोगी पाठ्यपुस्तकको व्यवस्था गर्ने, पाठ्यक्रम र अन्य शैक्षिक साधनहरूको व्यवस्थापन गर्नु अत्यावश्यक छ । त्यस्तै, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, पाठ्यक्रम अद्यावधिक गर्ने, करिअर परामर्श र मार्गदर्शनका कार्यक्रमहरू सञ्चालन गर्ने, रणनीतिक योजना र पाठ्यक्रम विकास गर्ने जस्ता कार्यहरू गर्न सकियो भने नेपालमा उच्च शिक्षा एक गुणस्तरीय बन्न पुग्ने देखिन्छ ।

अध्ययन गरिसकेपछि स्वरोजगार र आत्मनिर्भर बन्ने चाहन हरेक विद्यार्थीको हुन्छ । समग्रमा नेपालको पढाइ सिद्धान्तमा मात्र आधारित छ । जसको अर्थ, डिग्री हासिल गरेपछि पनि बेरोजगार रहिरहनुपर्ने हुन्छ । अन्य देशको अभ्यासलाई आत्मसात् गरेर शिक्षालाई व्यावहारिक बनाउनतर्फ ध्यान दिइयो भने पक्कै पनि यसले विद्यार्थी आकर्षित गर्छ ।

देशका हरेक क्षेत्रलाई कसरी चलाउने, शिथिल पार्ने कि तन्दुरुस्त बनाउने भन्ने राजनीतिमा नै निर्भर हुन्छ । नेपालमा प्राविधिक शिक्षा पढेका विद्यार्थीहरू अझै पनि नेपालमा आफ्नो सीप प्रयोग गर्ने अवसर नपाउँदा विदेशिन बाध्य छन् । आफूसँग भएको सीप प्रयोग गरेर स्वदेशमा नै आत्मनिर्भर बन्न नपाउँदा यो देशमा किन पढिएछ भन्ने पछुतोसमेत विद्यार्थीलाई हुने गरेको छ । यसमा राजनीतिसँगै प्रशासनिक क्षेत्रमा हुने नातावाद–कृपावाद मुख्य समस्या हो । यसलाई सुधार गर्न सरकाले तत्काल रणनीति बनाएर कार्यान्वयन गर्न जरुरी छ ।

चीन, जापान, अमेरिका, जर्मनीलगायतका देशमा शिक्षा सधैं प्राथमिकतामा छ । ती देशहरूमा भएको अभ्यासको सिको गर्दै प्रतिफल प्राप्त हुने गरी शिक्षामा लगानी बढाउनु अहिलेको मुख्य आवश्यकता हो । करियरमा आधारित नहुँदा नेपालको शिक्षा बेकामे बन्न पुगेको छ । विद्यार्थीहरूको आवश्यकता र रुचिअनुसार विद्यार्थीमैत्री शिक्षामा लगानी गर्न सकियो भने नेपालमै उच्च शिक्षालाई अझै प्रभावकारी बनाउन सकिन्छ ।

उच्च शिक्षामा विद्यार्थीहरूको आकर्षण गर्न तत्काल शिक्षणका आधुनिक प्रणालीहरू, उपयोगी पाठ्यपुस्तक तथा शैक्षिक साधनाहरूको व्यवस्थापन तत्काल गर्नुपर्ने देखिन्छ । विश्वले अभ्यास गरिरहेको शिक्षा प्रणालीलाई आत्मसात् गरियो भने नेपालमा विद्यार्थीहरूले उच्च शिक्षा लिनका लागि अग्रसर हुनेछन् ।

त्यस्तै, देशका विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । शैक्षिक क्षेत्र विशुद्ध प्राज्ञिक नेतृत्वमा सञ्चालित हुनु, गरिनुपर्छ । नेपालको कार्यशैली भने पहिलेदेखि नै फरक आएको छ । नेपालको पहिलो विश्वविद्यालय त्रिविलाई स्थापनाकालदेखि नै पदाधिकारी नियुक्तिमा राजनीतिक हस्तक्षेपले निमोठ्दै आएको छ । विश्वविद्यालयहरूमा हुने यस्ता हस्तक्षेपका कारण निर्धारित लक्ष्य उद्देश्य हासिल गर्न गाह्रो हुन्छ । त्यस्तै, पदाधिकारीहरू विश्वविद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुभन्दा बढी आफ्नो स्वार्थमा केन्द्रित भएकाले पनि गुणस्तरीय शिक्षा प्रवाह हुन सकेको छैन । यो समस्या तत्काल समाधान गर्न सके नेपालमा उच्च शिक्षाको चाहना बढ्न सक्छ ।

प्रविधि, विज्ञान र अन्य क्षेत्रमा भएको प्रगति समावेश गरी नियमित रूपमा पाठ्यक्रम अपडेट गर्नुपर्ने नेपालको उच्च शिक्षाको आवश्यकता हो । यसो गर्न सके, केही हदसम्म नेपालमा नै उच्च शिक्षामा विद्यार्थीहरूको आकर्षण बढाउन सकिन्छ । त्यसैगरी, विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र व्यावसायिक मार्ग देखाउन बलियो करिअर परामर्श प्रणाली स्थापना गर्नु पनि उत्तिकै आवश्यक छ । यसअन्तर्गत शैक्षिक संस्थाहरूलाई उद्योग व्यवसायसँग जोड्न सकिन्छ ।

संगठनमा परिणामहरू प्राप्त गर्न लक्ष्यहरू तय गर्ने, रणनीतिहरू विकास गर्ने र स्रोतहरू बाँडफाँट गर्ने प्रक्रिया नै रणनीतिक योजना हो । नेपालको उच्च शिक्षाका क्षेत्रमा भने यो निकै खड्केको देखिन्छ । त्यसैले यसको अभ्यासलाई विधिपूर्वक लागू गर्न सक्ने भने शिक्षाको गुणस्तर वृद्धि गरी उच्च शिक्षामा विद्यार्थी आकर्षित गर्न सकिन्छ ।

अतः उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गर्ने, शिक्षामा नवीनतम व्यवस्था गर्ने, विश्वविद्यालयलाई राजनीतिक कुदृष्टिबाट टाढा राख्ने, पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउने र विद्यार्थीलाई आत्मनिर्भर गराउन सक्ने प्राविधिक शिक्षाहरूको पहुँच विस्तार गर्ने कार्य तदारुकताका साथ गरेको खण्डमा नेपालको उच्च शिक्षालाई उचाइमा पुर्‍याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्