Trending
सरकारी कामकाजमा मातृभाषा :दुई वर्षपछि पनि कार्यान्वयन अन्योल     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु     |     कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव     |     इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह     |     सुनचाँदीको मूल्य हालसम्मकै उच्च     |     थाइल्यान्डमा रेल दुर्घटना, २० जनाको मृत्यु     |     सुन र चाँदीको मूल्य हालसम्मकै उच्च     |     आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |     अल्पायुमै अस्ताए प्रशान्त…     |    
बैंक वित्तीय

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

२० असार २०८२, शुक्रबार १७:५९

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनुपर्ने बताए ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको चर्चा गर्दै ढकालले नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।

‘नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू छन् । नेपालसँग ४० हजार मेगावाटभन्दा बढी क्षमतामा जलविद्युत उत्पादन गर्न सकिन्छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं,’ अध्यक्ष ढकालले भने ।

सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।

नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिन सक्ने बताए । कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्