Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
बैंक वित्तीय

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

२० असार २०८२, शुक्रबार १७:५९

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनुपर्ने बताए ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको चर्चा गर्दै ढकालले नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।

‘नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू छन् । नेपालसँग ४० हजार मेगावाटभन्दा बढी क्षमतामा जलविद्युत उत्पादन गर्न सकिन्छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं,’ अध्यक्ष ढकालले भने ।

सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।

नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिन सक्ने बताए । कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्