Trending
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’     |     प्रभु साहले भने, ‘जो प्रहरी उही चोर, कहीँ पनि छैन्, जो बैंकर छ, उहीँ ऋणी…     |     ४५ प्रतिशत कमिशनकै नाममा आज तराईका मान्छे दिनदाहाडै लुटिएका छन् : प्रभु साह     |     कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री     |     एनसेलद्वारा भैरहवामा पहिलो ‘सप इन सप’ सेवा सुरु     |     महालक्ष्मी विकास बैंक स्क्यान टु क्यास सुरु गर्ने पहिलो विकास बैंक     |     साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा     |     नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै     |     ‘ह्याक फर नेपाल’ ४८ घण्टे ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा हुने     |    
समाचार

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

१० कार्तिक २०८१, शनिबार ०४:५०

१० कार्तिक,काठमाडौँ। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिनुभएको जङ्गली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो । चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ ।

यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात् निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहकार्यमा सम्पन्न भएको थियो । विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।

यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लुडब्लुएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्काे जङ्गली याक देखिएको स्थानीयले जानकारी दिएका छन् । उनले भने, “तर यही हो वा अर्का जङ्गली याक हो विस्तृत अध्ययन विना भन्न सकिने अवस्था छैन । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जङ्गली याकको नेपालमा खासै तथ्याङ्क छैन ।” नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो ।

नेपालमा वन चौँरी पनि भनेर चिनिने जङ्गली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जङ्गली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ । जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जङ्गली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान गरिन्छ ।

नेपालमा यस प्रजातिको जनसङ्ख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन । हुम्ला जिल्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जङ्गली याक लोप भइसकेको मानिन्थ्यो । विश्वव्यापी रूपमा जङ्गली याकलाई आइयुसिएनले ‘रेड लिस्ट’ले जोखिममा राखेको छ । नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्याङ्क अभावका रूपमा वर्गीकृत गरिएको छ । नेपालमा यस प्रजातिको कानुनी स्थिति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित (परिशिष्ट १) छ ।

त्यसैगरी, साइटिसले परिशिष्ट १ प्रजातिमा जङ्गली याकलाई सूचीकृत गरेको निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गली याक गाई प्रजातिको जन्तु हो । तराई क्षेत्रमा गौरी गाई पाइएजस्तै उपल्लो हिमाली क्षेत्रमा चौँरी र जङ्गली याक पाइन्छ । “जङ्गली याक दुर्लभ छ । कठिन भौगोलिक क्षेत्र र हिमाली क्षेत्रमा पाइने भएकाले यसको अध्ययन र अनुसन्धान पर्याप्त हुन सकेको छैन,” वरिष्ठ इकोलोजिष्ट आचार्यले भने, “अहिले बिस्तारै हवाई यातायात, सडकको पँहुच, प्रविधिको विकासले गर्दा हिमाली वन्यजन्तुसँगै जङ्गली याकको पनि अध्ययन सुरु हुन थालेको छ ।”

हिउँ चितुवाको र यसको बासस्थान प्रायः एकै क्षेत्रमा हुन्छ । जङ्गली याकको बासस्थान र चरन क्षेत्र हिउँचितुवाको तुलनामा भने सीमित हुन्छ । घरपालुवा चौँरीभन्दा यो शारीरिक बनावटले फरक हुन्छ । “घरपालुवा चौँरीको तुलनामा यसको आकार ठूलोे हुन्छ, सिङ र रौँ फरक हुन्छ । विभागले सार्वजनिक गरेको उक्त तस्बिरसँगै जङ्गली याकको अध्ययन गर्न अनुसन्धानकर्ताको चासो बढ्छ । त्यसमा हामी प्रोेत्साहन गर्छौं”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्