Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

फेरिँदै देउसी भैलोको स्वरूप

१७ कार्तिक २०८१, शनिबार ०९:३२

१७ कार्तिक, काठमाडौँ। हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् ।

सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्मोनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।

तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताए । केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसी भैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उनले सरम्परा हराउनेमा चिन्ता व्यक्त गरे ।

हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसी भैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताए । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उनले उल्लेख गरे ।

बेनीका नैनकुमार श्रेष्ठले भने, “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उनले चिन्ता व्यक्त गरे ।

बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताए । बेनीका लोक संस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गरे ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोक संस्कृतिका जानकार श्रेष्ठले बताए ।

भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरे । उनका अनुसार यस दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्