Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

२७ कार्तिक २०८१, मंगलवार १५:२४

२७ कात्तिक,चितवन। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो ।

नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए । करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइमा करिव दुई हजार आठ सय केजी फोहर संङ्कलन गरिएको उनले बताए । सो क्रममा सिसा, प्लाष्टिक, कपडा, बोटल, धातुलगायत २७ प्रकारका फोहर भेटिएको जनाइएको छ ।

अभियानले नदी क्षेत्रबाट २५ हजार मेट्रिक टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरेको उनले जानकारी दिए । फोहर सङ्कलन गर्न २१ हजार स्वयंसेवक खटिएको उनले बताए ।

राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचरसमेत पाइन्छन् । तर मानवीय क्रियाकलापका कारण उनीहरूलाई असर परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले जानकारी दिए । “यहाँ घडियाल गोही जालमा परेको पाइएको छ, मृगहरूले प्लाष्टिक खाएको देखिन्छ, गैँडालगायत जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ”, उनले भने । “प्लाष्टिक तथा सिसाजन्य फोहरका कारण वनस्पतिलाई समेत असर पर्ने देखिन्छ ।”

राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तनसँगै कानुन निर्माण गर्नुपर्ने बताए । सरसफाइ कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्