Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय

१ मंसिर २०८१, शनिबार १०:१९

१ मंसिर,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन् ।

सो समुदायले परम्परागत रुपमा प्रदर्शनी गर्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । मध्यविन्दु नगरपालिका–३ का दुलामणि गुरौले अहिले मेडारी नाच समूहको नेतृत्व गर्दै आएका छन् ।

सत्तरी वर्षीय गुरौ यो नाचको संरक्षणका लागि नयाँ पुस्तालाई आफ्नो कला सिकाउँदै आएका छन् । पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको उनले बताए ।“मेडरी नाच्न धेरै जना हुनुपर्छ अहिले धेरै हामी ७० वर्ष पार गरेका पाकापुस्ता छौँ इच्छा देखाउने युवालाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उनले भने, “युवा पुस्तालाई यो नाचको महत्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।”

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु–३ लेडाहादेखि कावासोती नगरपालिका १५ गुन्द्रहीसम्म धार्मिक विधि अनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारु समुदायको ऐतिहासिक नाचमध्यको एक रहेको मेडरी नाच नचनिया गुरौले बताए ।

“मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँचपाण्डवहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”

थारु समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताए । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

महाभारतको लडाईंमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए । “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्