Trending
९ वर्षपछि कालिमाटी सडक कालोपत्रे सम्पन्न, सुर्खेत–दाङ आवागमन सहज     |     बेतन कर्णाली आयोजनालाई निर्माण स्वीकृति     |     प्रभु साहको प्रश्न, ‘सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’     |     कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषित     |     करोडौंको संरचना अलपत्र: जुम्लामा संघीय खानेपानी कार्यालय हटाउने निर्णयले स्थानीय आक्रोशित     |     सङ्घीय तथा प्रदेश कार्यालय नसार्न जुम्लावासीको अनुरोध     |     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै     |     प्रतिनिधिसभाको बैठक बस्दै     |     आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |    
समाचार

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

१४ मंसिर २०८१, शुक्रबार ०१:५८

१४ मंसिर, स्याङ्जा। यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् ।

वालिङ नगरपालिका- ६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका छन् ।

उहनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताए । उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आएका छन् ।

विसं २०५२ बाट व्यवसाय थाल्नुभएका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गरेका हुन् । व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिएका छन् ।

‘बीस रोपनी जग्गामध्ये झण्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ, बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु,’ उनले भने ।

यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ । बाल्यकालदेखि कृषि पेशाप्रति इच्छा भएकाले लागे तापनि केही वर्षपछि खेतीसम्बन्धी तालिमले झनै निखारता ल्याएको उनले बताए ।

कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेशाबाट सन्तुष्ट रहेको उनले बताए । कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय सङ्घसंस्थाले समय समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उनी बताउँछन् ।

कृषिकर्ममा उदाहरणीय कार्य गरेकामा २०७६ सालमा उनी राष्ट्रपतिबाट पुरस्कृत पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्