Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

२० असार २०८२, शुक्रबार १७:५०

हुम्ला। हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ। खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन्।

खार्पुनाथ गाउँपालिका– १ को पिउस, बोच्चेगौँडा, सुनखाडासहित वडा नं. ३ को राया, कारङ्गालगायत बस्तीमा यतिवेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन्।

दुई हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छोडेको शाहीले बताइन्। रातिको समयमा मात्रै टावर आउने गरेको उनको भनाइ छ। रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको हो।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रिप र उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या बनाएको स्थानीयको भनाइ छ।

रिप गाउँका विनोद फडेराले मौसम परिवर्तन भएको समयमा वर्षा हुँदा कुनै वेला अचानक क्षति भए पनि फोन गर्न टावर नहुँदा समस्या बनाएको बताए। मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उनको भनाइ छ। यस्तै, पालिका केन्द्र सर्केगाडमा पनि नमस्ते टेलिफोन सेवाले काम गर्न नसकेको सर्केगाडमा व्यवसाय गर्दै आएका गगन ऐडीले बताए।

चंखेली गाउँपालिका केन्द्र सञ्चारविहीन
जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका केन्द्र पिप्लाङ करिब एक महिनादेखि टेलिफोन सेवाबाट वञ्चित बनेको छ। टेलिफोन गर्न डाँडाकाँडा धाउनुपर्ने अवस्था रहेको यहाँका स्थानीयको भनाइ छ। गाउँपालिका केन्द्र मात्रै नभएर प्रायः ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता छ।

सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए–नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने स्थानीय बसुना तामाङको गुनासो छ। गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाएको भए पनि त्यसले पूर्णता नपाउँदा समस्या बनाएको हो।

पालिककै मेलछाममा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए। गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको उनले बताए।

गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरपर्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए । गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन। -रासस

प्रतिक्रिया दिनुहोस्