Trending
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले     |     डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |    
समाचार

‘विकृति’ शब्द प्रयोगप्रति आपत्ति : समलिङ्गी विवाह कानुनी दर्ता भइरहेका बेला घृणाजन्य भाषाको विरोध

१२ श्रावण २०८२, आईतवार ११:४९

काठमाडौं। संयुक्त नागरिक पार्टीद्वारा सार्वजनिक गरिएको आइतबार (साउन ११) को कार्यक्रमको सूचना पत्रमा ‘समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृति’ भन्ने अभिव्यक्ति समेटिएपछि त्यसप्रति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संस्था ‘मायाको पहिचान नेपाल’ले गम्भीर आपत्ति जनाएको छ।

सो पार्टीको मुद्दा, पहिचान तथा आन्दोलन परिचालन विभागले प्रकाशित गरेको उक्त सूचना पत्रमा ‘विकृति’ भन्ने शब्द प्रयोग गरिएको भन्दै संस्थाले त्यसलाई नेपालको संविधान, सर्वोच्च अदालतका निर्णयहरू र नेपालले अङ्गीकार गरेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूको खुला उल्लङ्घन भनेको छ।

“यस्ता अभिव्यक्तिहरू संविधानले प्रत्याभूत गरेका महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मौलिक अधिकारहरूसँग स्पष्टतः विरोधाभासी छन्,” मायाको पहिचान नेपालद्वारा शनिवार जारी विज्ञप्तिमा उल्लेख छ।

संस्थाका अनुसार यौनिक अभिव्यक्ति, लैङ्गिक पहिचान, सुरक्षित गर्भपतन, र समलिङ्गी विवाह कुनै ‘विकृति’ नभई मानव अधिकार, स्वायत्तता र व्यक्तिगत गरिमासँग प्रत्यक्ष सम्बद्ध विषयहरू हुन्। संस्थाले यस्ता शब्द र दृष्टिकोणले समाजमा घृणा, भेदभाव र हिंसालाई थप उचाल्ने खतरा रहने चेतावनी पनि दिएको छ।

नेपालमा सन् २०२३ नोभेम्बर २९ (मङ्सिर १३) मा पहिलो पटक एक समलिङ्गी जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेकाे विवाह कानुनी रूपमा दर्ता भएको थियो। यसले नेपालको संविधानको धारा १८ (समानता अधिकार) अनुसार सबै नागरिकको समान अधिकार सुनिश्चित गर्ने बाटोको ऐतिहासिक अभ्यासलाई पुष्टि गरेको थियो।

मायाको पहिचान नेपालले यस्ता घटनालाई पन्छ्याउँदै गरिएको अपमानजनक भाषा प्रयोगप्रति सरकार, राष्ट्रिय मानव अधिकार आयोग र सरोकारवाला निकायहरूलाई तुरुन्त सार्वजनिक प्रतिक्रिया जनाउन, निन्दा गर्न र भविष्यमा यस्ता कार्यक्रमहरूलाई कुनै पनि प्रकारको समर्थन नगर्न स्पष्ट माग राखेको छ।

“मायाको पहिचान नेपाल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समानता, न्याय र सम्मानका पक्षमा दृढतापूर्वक खडा रहन्छ,”संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्