काठमाडौं। नेपालका पूर्व राष्ट्रपति तथा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले शिक्षा तथा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई ‘पीपी प्रसाई सम्मान पुरस्कार’ प्रदान गर्नुभएको छ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा डा. यादवले देशका विभिन्न प्रदेशबाट छनोट भएका शिक्षकलाई ‘पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ तथा एक सामुदायिक विद्यालयलाई ‘पीपी प्रसाई विद्यालय प्रोत्साहन पुरस्कार–२०८३’ प्रदान गर्नुभयो।
पुरस्कारअन्तर्गत प्रत्येक उत्कृष्ट शिक्षकलाई ५० हजार नगद, सम्मानपत्र प्रदान गरिनुका साथै सम्बन्धित विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराइँदै आएको छ। यस वर्ष बैतडीको पञ्चेश्वर–१, पालाडीस्थित श्री नागार्जुन आधारभूत विद्यालयले रु. एक लाख बराबरको ‘पीपी प्रसाई विद्यालय प्रोत्साहन पुरस्कार–२०८३’ प्राप्त गरेको छ।
यस वर्षको ‘पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ प्राप्त गर्ने शिक्षकहरूमा कोशी प्रदेश, इलामस्थित श्री जनता माध्यमिक विद्यालयका खगेन्द्र निरौला, बागमती प्रदेश, काभ्रेपलाञ्चोकस्थित जनक माध्यमिक विद्यालयका युवराज भट्टराई, गण्डकी प्रदेश, नवलपरासीस्थित जनक मोडल माध्यमिक विद्यालयका मनोज विक्रम बिष्ट, लुम्बिनी प्रदेश, बर्दियास्थित श्री युवक माध्यमिक विद्यालयका नरेश कुमार चौधरी, कर्णाली प्रदेश, सुर्खेतस्थित श्री त्रिपुरेश्वर माध्यमिक विद्यालयका लोकेन्द्र चन्द र सुदूरपश्चिम प्रदेश, कञ्चनपुरस्थित श्री सिद्धनाथ अमर माध्यमिक विद्यालयकी अञ्जु कुमारी उपाध्याय रहेका छन्।
मधेस प्रदेशबाट यस वर्ष उल्लेख्य संख्यामा आवेदन नपरेकाले उक्त प्रदेशको शिक्षक छनोट प्रक्रिया भने स्थगित गरिएको छ।
देशभरबाट आवेदन आह्वान गरी शिक्षकहरूको शिक्षण शैली, विद्यार्थीको अतिरिक्त प्रतिभा तथा सीप विकासमा प्रोत्साहन, अभिभावक तथा समुदायसँगको सम्बन्ध, शिक्षण पेशाप्रतिको समर्पण, तालिमबाट प्राप्त ज्ञानको कक्षाकोठामा प्रयोग, सिकाइ उपलब्धि तथा स्थानीय अभिभावक र समुदायको सिफारिस लगायतका आधारमा मूल्यांकन गरिएको थियो। छनोटमा परेका शिक्षकहरूको अन्तरवार्तासमेत लिएर शिक्षा क्षेत्रमा क्रियाशील शिक्षाविद्, पूर्व शिक्षक, पूर्व प्रशासक, शिक्षण क्षेत्रमा सक्रिय संघसंस्थाका प्रतिनिधि तथा प्रतिष्ठित विज्ञ सम्मिलित निर्णायक समितिले पुरस्कारका लागि सिफारिस गरेको हो।
यसै अवसरमा थामसेर्कु ट्रेकिङका संस्थापक तथा अध्यक्ष ल्हाक्पा सोनाम शेर्पालाई ‘पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मान गरिएको छ।
शेर्पा यती एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा माउन्टेन लजेज अफ नेपालका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ। लामो समयदेखि नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रमा सक्रिय उहाँले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन तथा पर्वतारोहण क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकलाई उचित सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा ‘पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार’ स्थापना गरिएको हो। फाउण्डेसनले आगामी दिनमा पुरस्कार कार्यक्रमलाई अझ व्यापक, समावेशी र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
ग्रामीण क्षेत्रमा शिक्षा तथा पर्यटनको विकास गर्ने प्रजापति प्रसाईको सपना साकार पार्ने उद्देश्यले वि.सं. २०६७ फागुन ६ गते पीपी प्रसाई फाउण्डेसन स्थापना गरिएको थियो। पर्यटन व्यवसायी प्रसाईको वि.सं. २०५६ भदौ २० गते (५ सेप्टेम्बर १९९९) हवाई दुर्घटनामा परी निधन भएको थियो।