काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीपछिको उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले संकटको घडीमा देखाएको त्याग, निष्ठा र अदम्य साहसको कदर गरेका हुन्।
प्रधानमन्त्री शाहले विपद्को समयमा सुरक्षाकर्मीहरूले पुर्याएको योगदानका कारण लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएको उल्लेख गरेका छन्। उनले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, संकटमा खटिन प्रेरित गर्ने सुरक्षाकर्मीका परिवार र सहयोग गर्ने स्वदेशी तथा विदेशी विज्ञहरूलाई पनि उनले विशेष धन्यवाद दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री शाहले नुवाकोटको विदुरस्थित कारागारका कैदीबन्दीहरूको सुरक्षामा सुरक्षाकर्मीले देखाएको धैर्य र साहसको विशेष चर्चा गरेका छन्। बाढीले ब्यारेक र कार्यालयहरूमा क्षति पुर्याए पनि सुरक्षाकर्मीहरूले उच्च मनोबलका साथ ड्युटी गरिरहेको उनले बताएका छन्।
हाल नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ७५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। बाढीका कारण ४५ सैनिक, २५ प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन छन्।
प्रधानमन्त्री शाहले आफ्ना सहकर्मी गुमाएको पीडाका बाबजुद सुरक्षाकर्मीहरूले अहोरात्र उद्धार, शव व्यवस्थापन र प्रभावितहरूको सुरक्षामा खटिएको भन्दै कृतज्ञता व्यक्त गरेका छन्।
नेपाली सेनाले बेलीब्रिज निर्माण र सडक खुलाउने कार्यमा नेतृत्व गरिरहेको छ भने प्रहरी र सशस्त्र प्रहरीले खोज तथा उद्धारमा विशेष तालिमप्राप्त टोली र साधनको प्रयोग गरिरहेका छन्।