काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग आज भएको भर्चुअल सम्बोधनमा उनले आन्तरिक एकता थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।
अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताए । “शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,” उनले भने ।
उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा सङ्गठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र सङ्गठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन परिचालन गर्न कार्यकर्तालाई आग्रह गरे ।