Trending
प्रधानमन्त्री बालेनको भारत भ्रमण: राज्यमन्त्रीबाट हुने भयो स्वागत     |     चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो     |     मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक     |     नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा     |     उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत     |     भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |    
समाचार

प्रधानमन्त्री बालेनको भारत भ्रमण: राज्यमन्त्रीबाट हुने भयो स्वागत

७ मंसिर २०८३, आईतवार १६:१४

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को भारत भ्रमणका क्रममा उनलाई भारतका तर्फबाट राज्यमन्त्रीले स्वागत गर्ने भएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि राज्यमन्त्री जितिन प्रसाद विमानस्थलमा उपस्थित हुने कार्यक्रम तय गरिएको छ।

नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा गरिने स्वागतको स्तर फरक-फरक रहँदै आएको छ। जनआन्दोलन २०६२/०६३ पछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थल पुगेर स्वागत गरेका थिए। त्यसयताका भ्रमणहरूमा भने मुख्य रूपमा मन्त्री वा राज्यमन्त्रीले स्वागत गर्ने गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई भारत भ्रमणका क्रममा मन्त्रीहरूले स्वागत गरेका थिए। ओलीको दुवै भ्रमणमा क्रमशः विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। त्यस्तै, प्रचण्ड र देउवालाई पनि विदेशमन्त्री स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन्।

यद्यपि, प्रधानमन्त्री प्रचण्डका अन्य भ्रमणहरूमा राज्यमन्त्रीले स्वागत गरेका थिए। २०६५ सालमा प्रधानमन्त्री बन्दा प्रचण्डलाई राज्यमन्त्री सकिल अहमद र २०८० सालमा राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेका थिए। त्यसैगरी, शेरबहादुर देउवालाई २०७८ सालमा राज्यमन्त्री अजय भट्ट र माधवकुमार नेपाललाई २०६६ सालमा राज्यमन्त्री प्रेनित कौरले स्वागत गरेका थिए।

प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा तल्लो स्तरको स्वागत बाबुराम भट्टराईले पाएका थिए। २०६८ सालमा भारत भ्रमणमा जाँदा उनलाई चिफ अफ प्रोटोकल रुचिरा काम्बोज र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले स्वागत गरेका थिए। प्रधानमन्त्री शाह राज्यमन्त्रीबाट स्वागत पाउने प्रचण्ड, नेपाल र देउवापछिको चौथो अनुहार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्